• एउटै दृष्टि, भिन्न कोण
  • Search

कारको ठक्करबाट बारामा बाघ मर्‍यो

काठमाडौ २०७७ पुष १८ गते शनिवार

काठमाडौँ, पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।

तस्बिर : दिनेश थापाको फेसबुकबाट
जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।

कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट कान्तिपुरसित भने, ‘ घाइते बाघ एकछिनमै मर्‍यो ।’

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको कान्तिपुरलाई बताए ।

‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’ प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।

दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस