• एउटै दृष्टि, भिन्न कोण
  • Search

एक बिद्यार्थीकाे मनमा उब्जिएको नानाथरी सोच

रोल्पा २०८० जेष्ठ २७ गते शनिवार

देशमा बढदो बिरोजगारी समस्या, राजनीति प्रभाव यस्तै यस्तै कारणले रोजगारी नपाउदाको पिडाले भित्री मनबाटै उब्जिएका नानाथरी बिचारलाई यहाँ उल्लेख गर्ने प्रयास गरेको छ ।

ऊ एक आसावादि ब्यक्ती हो, दिनप्रतिदिन कठिन परिस्थिति र जिम्मेवारी बढदैछ। आज भन्दा भोलि सहज परिस्थितिको सिर्जना हुनेछ भन्ने सुनेको छ। निदाएपछिका सपनामा खासै चाख लाग्दैन अचेल, भन्छ खुला आँखाले सपना सजाउन थालेको छु, एक दिन त सफल होलानी भन्ने शब्दले नि छुट्टै आनन्द दिने रहेछ, आतिएर पनि के गर्नु कहाँ नै पग्नु छ र म नहतारिएर अपत्यारिलो भोली पर्खीन थालेको छु भन्छ।

जसको उमेर बिस्तारै बिस्तारै उकालो चढदैछ, उसलाई विभिन्न जिम्मेवारीको भारी बोक्ने अवस्था सिर्जना भइसकेको छ, त्यही बोझले मन एकदम भारी बनाएको छ, जिन्दगी भित्रभित्रै फाटि सकेको महशुस गर्छ। पढाई योग्यताका कागतजात जति भएपनि सीप बिहिन हुदा जुनी यत्तिकै बित्ला कि भन्ने मन भित्र त्रास पसिसकेको छ। ऊ सँगै पढेलेखेका साथीहरु कोही १२ पास गरेर बिदेश उडेर बिदेशी भुमिमा रमाएको देख्छ, कोही नेपालमै जागिर गर्दै नेपाल मै विभिन्न क्षेत्रहरुमा आबद्ध भएको पनि देखेको छ। उ भने पढाई पढाई भन्दै अहिलेसम्म समय विताइरहेको छ।

साथीहरु आत्मनिर्भर भईसकेको र एक दुइ पैसा कमाइसकेको देख्छ, आफूलाई भने सधै काम अर्थात जागिर नपाईको पीर र अभाव मात्रै छ। बाबा को टोपी फेर्ने सोच छ, आमाको चोली टाल्ने सोच छ, प्रेमिकालाइ भित्र्याएर खुसी खुसीका साथ पाल्ने सोच छ। काम केहि छैन, खुसी हुने कुनै आधार छैन, मेरो खुसीहरुले टाढैबाट पाहिला मोडिसके, आफुलाइ धेरै आफ्नाले  छोडिसको पनि देख्छ ।

उसले घर, परिवार, गाउँ, समाज सबैका कुरा सुन्छ। सबैले नेपालमा केही छैन, काम छैन भनेको सुन्छ, अनि बिदेशीने बिचार गर्छ, फेरी विदेशमा गएका दाजुभाइ दिदीबहिनीहरुले बिदेशी भुमिमा भोगेको दुखलाई देख्छ र सुन्छ, अनि भयो बिदेश जान्न भन्छ, धेरैले विदेश जानुपर्छ भविष्य राम्रो हुन्छ भनेको सुन्दा विकल्पमा खाडी मुलुक देख्छ ।

 धेरै पैसा कमाइ हुने देशमा जान त लगानी धेरै लाग्छ, पात्र संग पैसा छैन, भो बरु देशमै बसेर मेहनत गर्छु, अब लोकसेवा पढछु भन्छ। लोकसेवा पढन पनि त सजिलो छैन, नाम निस्केर जागिर हुने टुंगो छैन, पढदा पढदा थाकेकापात्रहरू पनि देख्छ। अन्य गैर सरकारी संस्थाहरूमा काम गर्नलाई डकुमेन्ट मात्रै भएर हुँदैन, एकै पटक अनुभव कहाँवाट आउछर, पावर पहुँच पनि पुग्दैन, चिनेजानेको माथिल्लो तहमा पनि छैन, उसले सम्पति नकमाउँदा आफन्तिले गर्ने ब्यवहार पिडा र वचनबाट थाहा पाएको छ । सबैलाई सामिप्यता हैन सम्पति चाइने रहेछ भन्ने बुझिसकेको छ।

अझै काम नगरी पढाइ लेखाइ गर्न आर्थिक अवस्थाले दिदैन, काम गर्ने इच्छा भएपनि अहिलेसम्म कुनै अवशर मिलेन, कतै पावर कतै पहुँच पुगेन कतै आफ्नै सीप अनि अनुभव पुगेन, पढाई लेखाई स्नातक पास भएपनि प्रमाणपत्र मात्रै भयो, राम्रो अङ्क भएन, कम्प्युटर सम्बन्धिको दक्ष, सीप अनि क्षमता भएन, पहिले लोकसेवा तयारी गर्न योग्यताले दिएन अहिले लोकसेवा तयारी गर्न जिम्मेवारी अनि अभावले दिएन, अहिलेसम्म जो कोहि संग काम मिलाइदिन अनुरोध गरेपनि कोहि कसैबाट सहयोग पाएन, कोही कसैले सहयोग गर्ला भन्ने आश राख्ने ठाउँ नै रहेन, अरुको प्रगति सुन्छ, आफ्नो सुनाउन पाएन, उमेर अझै बाकी नै छ, केही गर्ने समय छ भनि चित्त बुझाउँएको छ, फेरि आधा उमेर हिँडेको भनेर सम्झ्न्छ। जे जस्तो अवस्थामा भएपनि देश छोड्ने सोच गरेको थिइन भन्छ, केही गर्छु भन्ने आस बोकेको थिए अहिलेसम्म केही सिप चलेन, त्यही पनि आशाको दियो मरेको छैनन् भन्छ, गन्तव्य टाढा छ थाकेको छ, तर हार मानेको छैन, त्यसैले हासेर जिउन सिकेको छ, यो संसारमा दुख कसलाई पो छैनर भन्ने सोचेको छ,

मनमा रहर त के के छन-छन? तर मान्छे समय परिस्थिति अनुसार चल्नुपर्ने, भित्र जे भएपनि समयअनुसार जिउन जानेको छु भनेर चित्त बुझाएको छ। समय परिस्थितिले गर्दा मात्रै अलमलिएको हु आफ्नो गन्तव्य भुल्ने छैन, समस्या र चुनौती त मानिस बाचुन्जेल सम्म आउछन्, त्यसले हामी सामना गर्ने क्षमता हुनुपर्छ,  त्यसैले नआत्तिएरै सबै कुरा एकदिन ठिक हुनेछ भन्ने आस बोकेको छ ।

अब तपाई भनुहोस यो पात्र भित्र कमजोरी छ कि हाम्रो देश भित्र? अब के-के कुरामा सुधार गरेपछि पात्रले देश भित्र नै रोजगार पाउन सक्छ होला? यस्तो अन्योलतामा रहेको पात्र बिदेशिनु राम्रो होला वा अझै पढाइ पढाइ भन्दै राम्रो होला? जो जसले पढनु हुन्छ तपाईहरु सबैले लेखकलाइ एउटा राम्रो सुझाव दिनुहुनेछ ।  यो पात्रको अन्योलतालाई लक्ष्यमा पुर्याउन अवश्य मद्दत गर्नुहुनेछ।

धन्यवाद

प्रतिक्रिया दिनुहोस