• एउटै दृष्टि, भिन्न कोण
  • Search

यसरी गर्न सकिन्छ “सामुदायिक बिद्यालयको शैक्षिक सुधार”

डोल्पा २०८० साउन १७ गते बुधवार

सामुदायिक बिद्यालयको शैक्षिक सुधारका उपायहरु

भौतिक पुर्वाधार विकासमा सडक विकासको मेरुदण्ड भएजस्तै मानब विकासको प्रमुख पूर्वाधार शिक्षा नै हो । मानव विकासको प्रमुख आधार शिक्षा नै भएकोले शिक्षा क्षेत्रलाई थप प्रभावकारी र गुणस्तरीय साथै समय सापेक्ष बनाउदै लैजानु पर्दछ भन्ने आबश्यकता सबैले महशुस गरि कार्यान्वयन पनि गरिरहेका छन् । नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँचको हकको सुनिश्चितता गरि प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने हकको सुनिश्चितता गरेको छ । यसका अलवा विभिन्न नीति, योजना तथा कार्यविधीहरुले शिक्षाको गुणस्तर सुधारका बारेमा व्यापक रुपमा आवाज उठान गरेका छन् । शैक्षिक गुणस्तरको बिषय सरोकारवालाहरुको आम चासोको बिषय भएता पनि गुणस्तर सुधारमा सोचे अनुसारको उपलब्धि हाँसिल हुन सकेको छैन् । बालबालिकाको सिकाइ उपलब्धि दिनानुदिन खस्कदै गएको देखिन्छ भने बिद्यार्थीले जीवनप्रयन्त सिप हाँसिल गर्न सकिरहेका छैनन् । समग्र जिल्लाको परिपेक्षमा सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निम्नानुसार उपायहरु अबलम्बन गर्न सकिन्छ ।

१. बिद्यालय व्यबस्थापन समितिको सक्रियता
जिल्लाका सत प्रतिशत बिद्यालयका बिद्यालय व्यबस्थापन समितिहरु प्रधानाध्यापकको कब्जामा भएको हामी सबै जानकार नै छौ । शिक्षा ऐन तथा नियमावली ले बिद्यालय व्यबस्थापन समितिको काम कर्तव्य र अधिकार स्पष्ठ रुपमा उल्लेख गरेको भएता पनि बिद्यालय व्यबस्थापन समितिलाई प्रधानाध्यापकले केवल विभिन्न कागजातमा दस्तखत गर्ने कार्यमा मात्र सिमित पारेका छन् । जव सम्म बिद्यालय व्यबस्थापन समिति क्षमतावान हुँदैनन् र विद्यालयको समग्र विकासमा अग्रसरता लिदैनन् तव सम्म विद्यालय सुधार हुने देखिदैन । बिद्यालयको भौतिक विकास, समुदाय संगको सम्बन्ध, शैक्षिक विकास तथा सम्बन्धहरुमा बिद्यालय व्यबस्थापन समितिले मुख्य भूमिका खेल्न आबश्यक देखिन्छ । प्रधानाध्यापक आफै विद्यालयको भौतिक संरचना निर्माण, योजना निर्माण जस्ता क्षेत्रमा मन लगाएर कार्य गर्ने र उक्त कार्यमा बिद्यालय व्यबस्थापन समितिलाई मुखदर्शक मात्र बनाएर अन्य शैक्षिक तथा प्रशासनिक पक्षमा कम समय दिने प्रवृतिले पनि बिद्यालय सोचे बमोजिम सुधार हुन सकेका छैनन् ।
स्थानीय तहले पनि विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ संग परामर्श तथा अन्तक्रिया जस्ता कार्यहरु गरेको देखिदैन । विव्यस तथा शिअसहरु संगको प्रगाढ सम्बन्ध र साझेदारी स्थानीय तहले गर्नपर्ने आबश्यक देखिन्छ । विद्यालय व्यबस्थापन समितिलाई स्थानिय तहले चिन्ने र मद्धत गर्ने परिपाटीको विकास गर्नुपर्दछ ।

२. बिद्यालय अनुगमन तथा सुपरिवेक्षण
बिद्यालयको समग्र शैक्षिक गतिविधिलाई चलायमान बनाउनको लागि नियमित अनुगमन तथा सुपरिवेक्षण महत्वपूण हुन्छ । शिक्षा, यूवा तथा खेलकुद शाखा, नगर तथा गाउँ शिक्षा समिति एवम् सरोकारवाला निकायहरुबाट बिद्यालयको नियमित अनुगमन, सुपरिवेक्षण,पृष्टपोषण तथा सहायता हुन आबश्यक छ । बिद्यालयको अनुगमनमा कक्षा कोठाको अबस्था, शैक्षिक सामग्रीहरुको उपलब्धता, शिक्षकको नियमितता, भौतिक अबस्था, बिद्यालय व्यबस्थापन समितिको सक्रियता, समुदायको सहयोग र बिद्यार्थीहरुको सिकाइ उपलब्धि जस्ता विषय संगै दस्तावेजिकरण र प्रशासनिक अबस्थाहरुको अनुगमन तथा पृष्टपोषणको माध्यमबाट शिक्षक, बिद्यार्थी, अभिभावक, विव्यस र शिअसलाई सक्रिय र चलायमान बनाउन सकिन्छ । शिक्षकलाई स्थानीय तह तथा सरोकारवालाहरुले गर्ने व्यवहार पनि उल्लेख्य रुपमा सुधार गर्नुपर्ने देखिन्छ र शिक्षकको कार्य क्षमता अनुसारको प्रोत्साहन र कारावाही पनि गर्न आबश्यक देखिन्छ । यसले गर्दा काम गर्ने शिक्षक र काम नगर्ने शिक्षक बिचको विभेद र ग्याप न्यूनिकरण गर्न सकिन्छ ।

३. शिक्षक पेसागत सहयोग
विद्यालय शिक्षाको गुणस्तर बढाउन शिक्षकहरूको पेसागत दक्षतामा अभिवृद्धि हुनु आवश्यक हुन्छ । शिक्षकको पेसागत विकासका लागि शिक्षक तालिमलाई उपयुक्त उपायका रूपमा लिइएको छ । शिक्षक तालिमबाट प्राप्त ज्ञान र सिपको कक्षाकोठामा उचित प्रयोग हुन सकेको खण्डमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ । प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षकहरूलाई निरन्तर रूपमा प्रदान गरिने प्राविधिक सहयोगको ठुलो भूमिका रहन्छ । प्रभावकारी प्राविधिक सहयोग सहितको शिक्षण सिकाइबाट नै गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्छ । शिक्षकले पेसागत सहयोगका रुपमा तालिम त लिएका हुन्छन तर नयाँ सामग्री र नयाँ शिक्षण पद्दतिको प्रयोगमा एक पटक मात्र प्रदान गरिएको तालिमबाट शिक्षकहरूको शिक्षण सिपमा अपेक्षा गरिए अनुरूपको परिवर्तन आउन कठिनाइ हुने हुँदा बालबालिकाको पढाइ र लेखाइ सिपको विकासमा सहयोग गर्न शिक्षकहरूको कक्षा अवलोकन गरी निरन्तर पेसागत सहयोग गर्नुपर्ने हुन्छ । निरन्तर रुपमा शिक्षण सिकाइ तालिम तथा सहयोग, शिक्षक शिक्षक बिचको सिकाइ आदान प्रदान, प्राविधिक सहायता र नियमित मुल्याङ्कन हुन आबश्यक छ । आधारभूत तहका लागि माध्यमिक तहका शिक्षक र माध्यमिक तहका लागि माध्यमिक तहका विज्ञ शिक्षकको सहायताबाट प्राविधिक सहायता दिन सकिन्छ । नयाँ प्रविधी, पाठ्यक्रम, शिक्षण पद्धति, मुल्याङ्कन लगायतका क्षेत्रमा सिकाइ आदान–प्रदान, सहायता र क्षमता विकासका माध्यमबाट शिक्षकको पेसागत दक्षता हाँसिल गर्न सकिन्छ ।

४. शैक्षिक सामग्रीको उपलब्धता

हाम्रो परिपेक्षमा अधिकांश बिद्यालयहरु केवल पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको भरमा मात्र शिक्षण सिकाइ क्रियाकलापहरु सञ्चालन भएको छ । बिद्यालयमा शिक्षण सिकाइ क्रियाकलापका लागि शैक्षिक सामग्रीहरु जस्तै पाठ्यपुस्तक, शिक्षक निर्देशिका, पाठ्यक्रम र शैक्षिक सामग्रीहरु तथा सन्दर्भ सामग्रीहरु प्रयाप्त मात्रामा हुन आबश्यक छ । यधपी बिद्यालयमा पाठ्यपुस्तक मात्र उपलब्ध हुँदा शिक्षकलाईसजिकरणमा कठिनाइ हुनका साथै बिद्यार्थीहरुमा पनि पाठ्यपुस्तका बाहेकको ज्ञान हाँसिल गर्न समस्या हुन्छ । प्रयाप्त शैक्षिक सामग्रीको हुँदा बिद्यार्थीलाई प्रयोगात्मक सिप हाँसिल गर्न पनि सहज हुन्छ । बिद्यालयमा न्यूनतम रुपमा पुस्तकालय, कम्प्यूटर ल्याब, बिषयगत प्रयोगशाला हुन आबश्यक छ ।

५. बिद्यार्थी मैत्री पूर्वाधार
बिद्यार्थीलाई बिद्यालय घर र समुदाय भन्दा फरक होस भन्ने इच्छा हुन्छ नै । बिद्यालय र कक्षा कोठाको वातावरण पढ्न र सिक्नका लागि अभिरुचि पैदा गर्ने किसिमको हुनपर्दछ । कक्षाकोठामा प्रवेश गर्दा बालबालिकालाई मैत्रीपूर्ण बसाई, अध्ययन गर्न सकिने सामग्रीको उपलब्धता, छापामाय वातावरण र सफा कक्षा कोठाको व्यबस्थापन गर्न आबश्यक छ । कक्षाकोठामा शिक्षकले बालबालिकालाई गरिने व्यवहारले पनि बालबालिका कक्षाकोठामामा कति समय बस्न सक्दछन भन्ने बुझिन्छ । कक्षाकोठामा बालबालिका मात्र नभएर शिक्षकले पनि बिताउने समय प्रभावकारी हुन आबश्यक छ । बाह्य वातावरणको रुपमा बालबालिका मैत्री खेलकुद मैदान, हरियाली वातावरण, सफा र सुन्दर बिद्यालय परिसर  लगायतले पनि बालबालिकाको सिकाइ प्रभावकारी हुन्छ ।

५. समुदायको सहभागिता
सामुदायीक बिद्यालयहरुमा अभिभावकाको सहभगिता अत्यन्त न्यून हुने गर्दछ । बिद्यालयमा हुने शैक्षिक गतिविधिमा अभिभावकलाई जोड्न सकेको खण्डमा मात्र सिकाइ प्रभावकारी हुन्छ ।  शिक्षक, विव्यस, अभिभावक मिलेर हुने घरदैलो अभियान, अभिभावक भेला, जनचेतनामुलक कार्यक्रम, बैठक तथा छलफलका कार्यक्रम, अभिभावक अन्तक्रिया, अभिभावकबाट बिदालय भ्रमण र छलफलले शिक्षक, बिद्यार्थी र अभिभावकको शिक्षामा सक्रियता बढ्ने हुन्छ । बार्षिक रुपमा बिद्यालयमा पढाइ उत्सब, पढाइ प्रतियोगिता गर्ने साथै अन्तर विद्यालय तथा पालिका स्तरमा अतिरिक्त क्रियाकलाप तथा शैक्षिक क्रियाकलापहरु सञ्चालन गरेर समुदायको सहभागिता र रुचि अभिबृद्धि गर्न सकिन्छ ।

यसरी समग्र रुपमा सरोकारवला निकायहरु बिद्यालय, प्रधानाध्यापक, शिक्षक अभिभावक, स्थानीय तह लगायतले आफ्नो ठाउँबाट भूमिका र जिम्मेबारी बमोजिमको शैक्षिक गतिविधी सञ्चालन र हातेमालो गरेमा सामुदायीक बिद्यालयले पनि उल्लेख्य रुपमा शैक्षिक सुधार गर्न सक्दछन् ।

लेखक- योगेन्द्र बुढा डोल्पा सर्वाङ्गिन विकास मञ्च संस्थामा आबद्द ब्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस