• एउटै दृष्टि, भिन्न कोण
  • Search

देशलाई समृद्ध बनाउन, स्वदेशमा नै अवसर खाेजाैँ

रोल्पा २०८० माघ २१ गते आइतवार

नेपाल संसारमा पहिलेदेखि अविकसित देशमा रहदै आएको छ । हिजोका पुस्ताले अभाव भाेगे, आजका पुस्ताले अभाव र अविकसित भाेग्दैछाैँ । साँच्चिकै भावि पुस्तालाई पनि हामी यहीँ उपहार दिने त ! साेच्नुपर्ने हामीले हो , गर्नुपर्ने हामीले हो , अध्ययन गरेर सुधार्ने हामीले हो ! हामी हिजो भन्दा पर निर्भर अवस्थामा पुगेका छाैँ । हिजो माम नपुगे विदेशबाट ल्याउथ्याैँ । आज काम पनि बिदेशमा गर्नुपर्ने भएको छ । यो समस्या कसले गर्दा सिर्जना भयो ? कसले यो देश बिगार्याे ! यसको जवाफ हामी सबै सग छ : नेताले गर्दा यस्तो भयो , नेताले गरेनन् ….! हो , हिजो देखि हामीले यहीँ भनेको होइन ! अब पनि नेताको भरमा छाड्याैँ भने बुझ्नुपर्छ कि हामीले हाम्रो पुस्तालाई अन्धकारमा रुमल्दै छाैँ र देशलाई परनिर्भरता दिदैछाैँ । कुनै व्यक्ति वा नेताकाे पछाडि आलोचना वा समर्थन गर्दै हिड्नु भन्दा आफ्नो तर्फबाट देशमा मैले कति याेगदान दिनसक्छु ! मैले / हामीले निस्वार्थ रुपमा यो देशमा आउने समस्याहरु माैलिक रुपमा समाधान गर्नुपर्छ । देशमा आवश्यक पर्ने सबै समानहरु यहीँ उत्पादन गर्नुपर्छ । यहीँ राेजगार सिर्जना गर्नुपर्छ । छाेराछाेरी स्वदेशमै पढाएर , स्वदेशमै बैज्ञानिक अनुसन्धान , खाेज , अध्ययन गरेर अलिकति भए पनि आफ्नो गाउँ समाज र राष्ट्रलाई याेगदान दिनुपर्छ जस्ता उपलब्धिपुर्ण साेच बनाएर मन र विचारबाट काम गरियो भने अवश्य देश समृद्ध हुनेछ ।

अहिलेको प्रवृत्ति झन् नाैलाे प्रवृत्ति छ , १२ कक्षा पढ्याे अनि जापान, काेरिया, अस्ट्रेलिया आदि देशहरूमा स्टुडेन्ट भिषामा जाने साेच रहन्छ । अध्ययन भन्दापनि कमाउने उद्देश्य रहन्छ । नेपालका कलेजहरु खाली छन् । युवाहरू मात्रै होइन धेरै जसाे अभिभावक पनि मेरो छाेरा/छाेरी अमेरिका छ, मेरो छाेरा /छाेरी जापान छ भनेर भन्न पाए आफुलाई गर्व हुन्थ्यो ठान्छन् । छाेराछाेरी विदेशमा हुन्छन् यता नेपालमा बुढेसकालमा सहारा काेहि हुदैनन् । मर्दा पर्दा हेरचाह गर्ने सम्म काेही हुदैन । एउटा महत्त्वपूर्ण प्रश्न छ : ऋण लागेपछि विदेश जानुपर्छ ! ऋण धेरै छ । यहाँ बसेर के काम गर्ने ! भन्ने जस्ता सवाल ! नेपालमा काम गर्ने विदेशीहरु पनि थुप्रै भेटिन्छन् । इन्डियनहरु गाउघरमा फाेहाेर टिपि माेहर बनाएको देखेका छाैँ । कपाल काट्ने ठाउँमा , ग्यारेजहरुमा तथा उद्योग कलकारखानामा विदेशीले काम गरिरहेका छन् । बिदेशबाट दुख गरि कमाएको पैसा नेपालमा उत्पादनशिल काममा सदुपयोग गरियो , फजुल खर्चबाट बचियाे भने र भविष्यमा भावि पुस्तालाई स्वदेशमा राेजगारीकाे सृजना गरियो भने हाम्रो महान कर्तव्य पुरा हुनेछ ।

हाम्रो लागि एक सेकेन्ड पनि राम्रो कामको लागि महत्त्वपूर्ण छ । हामीले एक सेकेन्डमा काम गर्याै भने त्यो एक सेकेन्डमा ड्राइभरले गाडी बचाउँछ । पाइलटले जहाज बचाउँछ, परिक्षार्थी जाँचमा पास हुन्छ । डाक्टरले अप्रेसन गरेर बिरामीको ज्यान बचाउँछ । हामीले पनि एक सेकेन्डमा धेरै रचनात्मक काम गरेर मुलुकमा समृद्धि स्थापना गर्न सक्छौं । हामी आफैंले आफैंलाई बेरोजगारी घाेषणा गरेर सेकेन्ड मात्रै होइन पुर‌ै घण्टा र पुरै दिन बिताएको पत्तो पाउदैनाैँ । हामीलाई अरुको कुरै गर्न , आलोचना गर्न फुर्सद हुदैन । गन्थनमन्थन कुरा गर्न फुर्सद हुदैन । शहर बजारको मानिसहरू आफुलाइ बस्न जन्माएको ठान्छन् , आफू धनी हुनेखाने भएकोले काम नगरे पुग्छ भन्ने घमण्ड हुन्छ , जसले मेहनत गर्याे उसलाई हाैसला भन्दा पनि हेपाइ दृष्टिले हेर्छन् । स्वदेशमा राेजगार पाइदैन , कृषि पेसामा रुचि छैन । आधुनिक कृषि प्रणाली बारे ज्ञान छैन । सबै बाहिरबाट ल्याउनुपर्ने , घरमा उत्पादन केही छैन , उत्पादन गर्ने कसरी ज्ञान छैन अनि बेरोजगार बस्दा आमदानी कसरी हुन्छ र ! पेट पाल्न, उपचार, रितिरिवाज मनाउन ऋण लिनुपर्ने र त्यो ऋण घर बसेर तिर्न नसकिने भएपछि विदेशिनुपर्ने हुन्छ । यसकारण विदेश नेपालीले झलमल्ल बनाउछन् आफ्नो घर भत्किएको पत्तो हुदैन । आफ्नो देश भत्किएको हेर्न विवस छन् ।
काेहि कहरले बिदेश जानुपर्छ भने काेहि रहरले विदेश जान्छन् । प्रायः युवाहरूमा नेपालप्रति उदासीनता देखिन्छ, नकारात्मक मनाेभाव देखिन्छ, विदेशप्रतिकाे माेह देखिन्छ । स्वदेशी माया, सद्भाव, मानवता, रितिरिवाज, संस्कृति, परिवार प्रतिकाे कर्तव्य , परिवारकाे महत्त्व, जन्म, विवाह,मृत्यु जस्ता कुराहरूमा पश्चिमी शैलीकाे प्रभाव पर्दै गएको छ । आफुसँग पैसा भएरपनि अझै धेरै पैसा कमाउन अमेरिका, काेरिया जस्ता देशमा जाेखिम गरेर ७०/८० लाख तिरेर जान्छन् । उनिहरुलाई थाहा छैन कि यो पैसा नेपालमा उत्पादन क्षेत्रमा प्रयोग गरियो भने देश समृद्धमा टेवा पुग्छ भनेर । त्यति धेरै पैसा तिरेर गएपछि नेपालीको परिचय दिन पाउदाे रहेनछ । त्यहाँ पुगेर शर्णार्थी बन्नुपर्ने , अर्काको देशमा कुनै केही नभएको भन्नुपर्ने ,कुरा सुन्दा पनि अचम्म छ । अझ हामी नेपाली अमेरिकन आर्मी बनेर मिलिनियम च्यालेन्ज कर्पाेरेसन जस्ता प्राेग्राम मार्फत नेपालीलाई ठाेक्न परे ठाेकिदिन पछि पर्दैनाैँ सायद ।

अहिले रुस र युक्रेनकाे लडाइँमा एकातिर युक्रेनी सेनामा नेपाली भर्ती भएका छन् भने अर्काेतिर रुसी सेनामा पनि नेपाली भर्ती भएका छन् र एकापसमा आफ्नै नेपाली दाजुभाइ लडिरहेका छन् । संसारले भाइ भाइ लडेको रमिता हेरिरहन्छ , हामी मुर्ख वीर गाेरखाली पाखुरा सुर्काइरहेछाैँ । विश्व चन्द्रमा प्रवेश गरिसक्यो, अन्तरिक्षमा बस्ती बसाउने याेजना गरिसक्यो, मंगल ग्रहकाे एलियन संग नाता गाँसिसक्याे हामी भने नानाथरीका जालाे बनाइ अल्झिरहन्छाैँ। यी कुरा नेताहरूकाे कानमा पुग्छन् कि नई भनेको त ती नेताहरू नै विदेश पठाउने दलाल हुँदा रहेछन् । हामी भाेट दिन्छौं, एक गिलास ओखती लिन्छौं, किन ओखती भनिएको हो भने करिब दुईतिहाइ बहुमतले सेवन गर्ने भएकोले भनियो तर चुनाव जितेपछि ओखतीकाे दाम पुर्ति गर्न बजेट विभिन्न नाममा पचाउछन् । मतदाता विदेश जान बाध्य हुदा पहुँचवाला नेताज्युकाे गाेजिमा नाेट बर्सन्छन् तर हामीलाई उनिहरु गलत गरेजस्तो लाग्दैन । पैसावाला धनीले र माथिल्लो शासकमा रहेकोले सन्तान पढ्न विदेश पठाउँछन । गाउँमा अरुलाई घमण्ड देखाउन र अरुभन्दा माथिल्लो कहलाउन विदेश पठाउँछन् । तर उनिहरुलाई सन्तानलाई विदेशी बनाउछाैँ, नेपाल समृद्ध बनाउनुपर्छ, नेपालमा मेरा सन्ततिले मेहनत गरुन् भन्ने चाहदैनन् । अन्तमा आफू पनि दुख पाउछन् , देशलाई पनि पछाडि पार्छन् ।

काठमाडौं गएको बेला साथी पर्खेर बसिरहेको थिए । मलाई लाग्थ्यो , काठमाडौंमा त चिनेको काेही हुदैन , यहाँ त हामी दुर्गमभन्दा अलि हुनेखाने बस्छन् हाेला तर यस्तो भैदियाे : एकजना मिजाशिलाे बृद्ध बुवा मेरो नजिकै आएर मसँग कुरा गर्न खाेज्नुभयाे । मैले कुरा गर्न समर्थन जनाएको हुनाले आँखाबाट आँसु झार्दै मेरो छाेराजस्ताे लाग्यो भनेर कुरा गरिरहँदा मैले साेधे, तपाईंका छाेरा कहाँ छन् र बुवा ? उहाँले सुरु गर्नुभयो : मेरा तीन भाइ छाेरा र एक छाेरी छन् तर सबै विदेश छन् । एउटा छाेरा अस्ट्रेलिया छ , दुई छाेरा र छाेरी अमेरिका छ । काठमाडौंमा घरजग्गा छ । मैले भने; तपाईं जस्तो भाग्यमानी यो संसारमा काेही छैन हाेला बुवा । हाँस्नुभयाे र चश्मा पुछेर फेरि लगाउनु भयो । मैले फेरि साेधे; अनि तपाईं काे सग बस्नुहुन्छ नि ? उहाँले भन्नुभयो ; म वृद्धाआश्रममा बस्छु । त्यसपछि ती अमेरिकनहरुका बुवादेखि दया लाग्यो । ती काठमाडौंका जमिन्दार मालिक वृद्धाश्रम बसेकाे देखेर अचम्म लाग्यो । मैले भने प‌ैसा पठाउछन कि नइ उहाँले भन्नुभयो मलाई पैसा चाहिदैन बाबु , बुढेसकालमा छाेराछाेरी नचाहेपछि मलाई पैसाको के काम । यो त एउटा उदाहरण मात्रै हो । ज्यान र परिवार पाल्न बाध्यता विदेशीनु जायज हो तर अलि धेरै प‌ैसा ल्याएर मेरो भविष्यकाे उज्ज्वल रेखा काेर्छु भन्नु बेकार हो ।

अहिले शिक्षित युवाहरू नेपालमा केही छैन विदेश जानुपर्छ भन्ने साेच बाेकेकाे पाईन्छ । यहाँ पढेर ३० हजार जागिरले के गर्नु , बरु विदेश गएर महिनाको एकलाख कमाउछु भन्ने साेच रहेको छ । विदेश जानु भनेको गलत हो भनेर विदेशी कमाइलाई दाेष लगाउन खाेजिएकाे होइन । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले विदेशमा गरेजस्तै काम नेपालमा गरियो भने नेपाल नै विकसित हुन्छ भन्न खाेजिएकाे हो । नेपालमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्न खाेजिएकाे हो । नेपालीहरूले विदेशबाट पठाएको रेमिट्यान्सले देश चलेको छ सबैभन्दा याेगदान उहाँहरू गर्नुभएको छ । विदेशबाट दुख गरि पठाएको रेमिट्यान्स ठिक ठाउँमा प्रयोग भएको छ कि नइ ! राम्रो काममा भन्दा नराम्रो काममा दुरुपयोग भएको छ कि ! यतिधेरै विदेशबाट पैसा पठाउँदा , विदेशमा दुर्घटना परि ज्यान जाँदा वा अपांग भइ अङ्गभङ्ग हुदा समेत किन नेपाल धनी हुन सकेन , किन व्यक्तिहरुकाे लुटधन्दा चल्दैछ , किन रातारात करोडौंको मालिक बन्दैछन् । कतै तपाईं हामीले पठाएको रगत र पसिनामा रजाइँ गरिरहेका छन् कि ! दुरदराजका विकट वस्तिहरु उस्तै छन् ,तपाईं हाम्रो दैनिकी दयनीय छ तर गाउँबाट भाेटले काेट फेरेको तल्लाघरकाे धने अहिले राजधानीमा धनिराम भैसकेको छ । तसर्थ ; नेपालीले २४सैँ घण्टा विदेशमा खटिएको जस्तै नेपालमा वातावरण सिर्जना गर्नुपर्छ । हामीले स्वयं सिर्जना गर्नुपर्छ , के यो असम्भव छ ! अहिलेसम्म असम्भव देखिरहेका छाैँ । विदेशमा सम्भव देखिरहेका छाैँ अब स्वदेशमा सम्भावना देख्ने कि ! यहाँ नेपालमा पनि धेरै युवाहरूले उदाहरणीय काम गरेका छन् । देशप्रति आस्थावान् कमै व्यक्ति छन । समयसमयमा हामीले सुन्ने गरेका छाैँ ; फलानोका परिवार सबै सरकारी जागिरे , एकै वर्षमा ७ ठाउँबाट लाेकसेवा पास, १२० वटा परिक्षा दिएका व्यक्ति १२१ ओैँ पटक सफल, ड्राइभर काम गर्दै पढ्दै लाेकसेवा पास , कृषिबाटै लाखौंलाख आमदानी, किबी खेतबाट मनग्ये आमदानी, बाख्रा पालन, कालिज पालन ड्रागन फ्रुट, स्याउ खेति, च्याउ खेती इत्यादिबाट स्वदेशमै लाखौंलाख कमाइ जस्ता उदाहरणीय समाचार सुनिन्छन्, हाम्रै आँखाले देखिन्छन् ।

नेपाली बैज्ञानिक महावीर पुन जसले नेपालमा अवसरैअवसर देख्नुहुन्छ । उहाँको एउटा पुस्तक बिक्रीबाट कृषि कारखाना, राष्ट्रिय आविष्कार केन्द्र जस्ता उद्योग कलकारखाना संचालन गर्न सकिन्छ भन्ने शाहस गर्नुहुन्छ । हामी पनि आफ्नो क्षमताले भ्याएसम्म निर्माण, आविष्कार तथा उत्पादन गर्नसक्छाैँ । हामीले नुनदेखि सुनसम्म, सियो देखि ठुल्ठुला मेसिनरीसम्म, केटाकेटीका खेलाैनादेखि बाइक, कार सम्म र शरीर ढाक्ने नाना, पेट भर्ने खाना तथा ओत लाग्ने छाना सम्म सबै विदेशबाट आयात गर्छौं । दैनिक प्रयोग हुने समान तथा हामीलाई आवश्यक पर्ने सामान यही उत्पादन गर्न सकिन्छ । हामीले नगरीकन कसले गर्छ ; विदेशी आएर गरिदिन्छ कि तिम्रो/हाम्रो नेता आएर गरिदिन्छ ! हाम्रो सन्तानलाई दक्ष, विज्ञ कर्मठ बनाउन साेच्ने हैन र ! कतिपय व्यक्तिहरु नेपालमै केही गर्छु भन्ने साेच पनि छ तर नेपालमा वातावरण अनुकूल नभएको बेलाबेलामा गुनासो आउँछ । नेपालमा हिजाे भन्दा आज विकास नभएको होइन । धेरै विकास भएको छ तर कछुवाकाे गतिमा मान्न सकिन्छ । खरायोकाे गति दिने हामीले हो किनकि हामी यो देशका सचेत नागरिक हाैँ । अरुकाे भर पर्नु भनेको हामी अन्धाे बन्नु हो त्यसकारण हामी हाम्रो प्रतिनिधि , हाम्रो शासक विकासप्रेमी छान्नुपर्छ । हामीले हाम्रा लागि तथा हाम्रो भावि सन्ततिकाे लागि फराकिलो छाति बनाएर दिर्घकालसम्म साेच्नुपर्छ । दिगाे परिवर्तनको लागि हामीले नयाँ मार्ग पहिल्याउन सक्नुपर्छ । अर्काको नकारात्मक आलोचना तथा टीका टिप्पणी गर्ने एक सेकेन्ड समय पनि छुट्याउनुहुदैन् । नियम , कानुन र प्रणाली बसालियाे भने नकारात्मक साेच र कार्य गर्ने व्यक्तिहरु पनि समाजमा बाँधिन बाध्य हुनेछन् । अल्पविकसित देश विकसितमा रुपान्तरण भएर देशमा राेजगार सिर्जना हुनेछ । कुनै पनि व्यक्ति राजनीतिक शक्तिको आडमा अपराधमा संलग्न हुनेछैन । देशमा कानुनी शासनको प्रत्याभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस