• एउटै दृष्टि, भिन्न कोण
  • Search

माेदी फेरि प्रधानमन्त्री

२०७६ जेष्ठ ९ गते बिहिवार

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्ततः भारतीय मतदाताले विजेता थाहा पाउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मिहिनेत गरेको छ ।

देशभर मोदीको चुनावी संघर्ष विपक्षी कंग्रेस तथा शक्तिशाली क्षेत्रीय दलसँग भएको थियो । मतदानपछिको सर्वेक्षणबाट एक्जिट पोलले मोदीले पुनः जित्ने भविष्यवाणी गरेको छ । तर, विश्लेषकले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन भनेका छन् । भारतमा अन्तिम तथा सातौं चरणको मतदान आइतबार सम्पन्न भएको थियो ।

निर्वाचनमा ९० करोड योग्यमतदाता थिए । यो संख्या विश्वको कुनै पनि निर्वाचनमध्ये सबभैन्दा धेरै हो । झन्डै ८ हजार उम्मेदवार तथा ६ सय ७० राजनीतिक दलको भाग्य यही निर्वाचनले गर्दै छ । भारतीय निर्वाचन आयोगले परिणाम चरणबद्ध रूपमा प्रकाशित गर्नेछ ।

भारतमा मोदी एक विभाजनकारी शक्तिका रुपमा चिनिन्छन् । कैयौंले उनलाई मन पराउँछन् भने कैयौंले उनीमाथि देशमा विभाजन ल्याएको आरोप लगाउँछन् ।

निर्वाचनमा बहुमत ल्याउन कुनै एक पार्टी वा गठबन्धनले कुल ५ सय ४३ सिट रहेको लोकसभामा कम्तीमा २७२ सिट जित्नुपर्नेछ ।

सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो । त्यतिखेर कंग्रेस ४४ सिटमा खुम्चिएको थियो ।

भाजपाका लागि मोदी नै मुख्य आकर्षणका केन्द्र हुन् । भाजपा र यसका गठबन्धन सहयोगीले केही सिट कम जिते पनि बहुमत कायमै राख्ने आँकलन गरिएको छ ।

आलोचकले मोदी सरकारले तीव्र आर्थिक वृद्धि तथा रोजगारका वाचा पू्रा नगरेको र देशमा धार्मिक विभाजनका रेखा खिचिएको बताउँछन् । पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जीसँग भाजपाको चर्काचर्की नै भएको थियो ।

मोदीका मुख्य प्रतिस्पर्धी कंग्रेस नेता राहुल गान्धी हुन् । भारतीय राजनीति नेहरू–गान्धी परिवारको पकडबाट असन्तुष्ट भएको ठानिएको बेला राहुल गान्धी भारतको मत पुनः जित्ने कोसिसमा छन् । तर, पार्टीले बहुमत ल्याउने सम्भावना निकै कम छ । महत्त्वपूर्ण राज्यमा कंग्रेसले चुनावपूर्व गठबन्धन बनाउन पनि सकेन ।

प्रतिक्रिया दिनुहोस