• एउटै दृष्टि, भिन्न कोण
  • Search

बालेन सहभागी नभएको कार्यक्रममा रविले किन उठाए गुटको कुरा?

काठमान्डौ २०८२ चैत्र ४ गते बुधवार

प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइको अभूतपूर्व बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार गठनको चटारो चलिरहँदा आन्तरिक शक्ति संघर्षको संकेत देखिएको छ। पार्टीका दुई प्रमुख खम्बा मानिएका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबिचको सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ।

ललितपुरको ग्वार्कोमा आयोजित नवनिर्वाचित सांसदहरूको दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन शाह सहभागी नभएपछि यसले थप चर्चा पाएको हो। बालेनको अनुपस्थितिकै बिच सभापति लामिछानेले पार्टीभित्र गुटबन्दी गर्नेहरूलाई कडा चेतावनी दिएका छन्।

गुटबन्दी गर्नेलाई कारबाहीको चेतावनी

बुधबार कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र गुट बनाएर पुराना दलहरूलाई परास्त गर्न नसकिने स्पष्ट पारे। “अब तपाईंहरूको दौड स्वार्थ समूहको घर-घरमा होइन। गुट बनाएर कांग्रेस र एमालेलाई जित्न सकिँदैन साथीहरू,” उनले भने, “कुनै गुट बनाउन पाइँदैन, घन्टीमुनि सबै अटाउन सक्छौँ।”

विभिन्न स्वार्थ समूह र बिचौलियाको प्रभावमा परेर गुटबन्दी गरेको पाइएमा सांसदहरूलाई जिम्मेवारीबाट मुक्त गर्न सक्ने चेतावनी समेत उनले दिए। उनले थपे, “जिम्मेवार पदमा पुगेर पनि पुरानै शैलीबाट चल्छु भन्नुभयो भने बाहिरिन सक्नुहुन्छ।”

पार्टीले तय गरेको कार्यसूचीमा सभापति रविको नाम राखिए पनि भावी सरकारको नेतृत्व गर्ने भनिएका बालेन शाहको नाम समावेश नगरिनु र उनी स्वयम् उपस्थित नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पुस १३ गते भएको ७ बुँदे सहमतिपछि पार्टी यो उचाइमा पुगे पनि अहिले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पार्टीभित्रै दुई धार देखिएको चर्चा छ।

उपसभापति डोलप्रसाद अर्याल र सचिवालय सदस्य हरि ढकाल लगायतका नेताहरूले बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा स्पष्ट जवाफ नदिएपछि बालेन पक्ष सशंकित बनेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस