लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरणका नाममा पूर्व–पश्चिम राजमार्ग क्षेत्रभित्रका रुखहरू अवैध रूपमा काटिएको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ८ जना दोषी ठहर भएका छन्। दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइ गर्दै अध्यक्ष विष्ट, तीन जना वडाध्यक्षसहित आठ जनालाई दोषी ठहर गरेको हो।
गत पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले बिना अनुमति प्रमाणबिनै सडक क्षेत्राधिकारभित्रका रुख काटी काठ ओसारपसार गरेको अभियोगमा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिनुभयो। वडा नं. ४ का वडाध्यक्ष वीरबहादुर चौधरीसहित ९ जनाविरुद्ध दायर मुद्दामा अदालतले आंशिक अभियोग दाबी पुग्ने ठहर गरेको छ।
अदालतले वडा नं. ४ का वडाध्यक्ष वीरबहादुर चौधरीलाई एक महिना कैद र १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो भराउने आदेश दिएको छ। त्यस्तै, गाउँपालिका अध्यक्ष विष्टसहित वडा नं. १ का वडाध्यक्ष गेमे खड्का, वडा नं. ५ का वडाध्यक्ष देवप्रसाद चौधरी तथा काठ खरिदकर्ता झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५/१५ दिन कैद सजाय सुनाइएको छ।
यता तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ। डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीले २०८० मंसिर १० गते उक्त मुद्दा अदालतमा दायर गर्नुभएको थियो।

