• एउटै दृष्टि, भिन्न कोण
  • Search

जापानमा साइकल चालकका लागि कडा ट्राफिक नियम लागू, उल्लंघनमा जरिवाना

क्योटो २०८२ चैत्र १८ गते बुधवार


क्योटो — जापान सरकारले साइकल चालकहरूका लागि नयाँ तथा कडा ट्राफिक नियमहरू लागू गरेको छ। ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन साइकललाई ‘सानो सवारी साधन’का रूपमा वर्गीकृत गरिएको छ, जसअनुसार अब साइकल चालकले अनिवार्य रूपमा सडकको बायाँ किनारबाट मात्रै यात्रा गर्नुपर्नेछ।


नयाँ नियमअनुसार सामान्य अवस्थामा फुटपाथमा साइकल चलाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यदि कसैले यो नियम उल्लंघन गरेमा ६,००० येनसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि, सरकारले केही विशेष अवस्थाहरूमा भने फुटपाथमा साइकल चलाउन छुट दिएको छ। ट्राफिक संकेतमार्फत अनुमति दिइएको स्थान, सडक मर्मत वा सवारी साधनको अत्यधिक पार्किङका कारण सडक असुरक्षित भएको अवस्था, १३ वर्षभन्दा कम उमेरका बालबालिका, तथा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले फुटपाथ प्रयोग गर्न पाउनेछन्।


तर, यी अपवादका अवस्थामा पनि साइकल चालकले कडाइका साथ नियम पालना गर्नुपर्नेछ। फुटपाथमा साइकल चलाउँदा बिस्तारै गति नियन्त्रण गरी सडकतर्फको किनारबाट यात्रा गर्नुपर्नेछ भने पैदल यात्रुलाई पूर्ण प्राथमिकता दिनुपर्नेछ। पैदल यात्रुलाई बाधा पुग्ने अवस्था आएमा अनिवार्य रूपमा रोकिनुपर्नेछ। यी नियम उल्लंघन गरेमा ३,००० येनसम्म जरिवाना लाग्नेछ।


यसैबीच, प्रहरी प्रशासनले ‘येलो कार्ड’ र ‘ब्लु टिकट’ प्रणाली पनि कार्यान्वयनमा ल्याएको छ। सामान्य वा पहिलोपटकको सानो गल्तीमा ‘येलो कार्ड’ मार्फत चेतावनी दिइनेछ। तर, चेतावनीलाई बेवास्ता गर्दै पटक–पटक नियम उल्लंघन गरेमा वा पैदल यात्रुको सुरक्षामा जोखिम पुग्ने गरी लापरवाहीपूर्वक साइकल चलाएमा ‘ब्लु टिकट’ जारी गरिनेछ, जसअन्तर्गत अनिवार्य रूपमा जरिवाना तिर्नुपर्नेछ।


सरकार तथा ट्राफिक प्राधिकरणले सबै साइकल चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित र जिम्मेवार यात्रा गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस