• एउटै दृष्टि, भिन्न कोण
  • Search

वैध मत गनिए आफूले जित्ने ट्रम्पको दाबी

काठमाडौ २०७७ कार्तिक २१ गते शुक्रवार

अमेरिकामा आगामी राष्ट्रपतिका लागि निर्वाचनको मतगणना जारी रहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले आफूले जित्ने दावी गरिरहेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा ट्रम्प पछाडि परेका छन् । तर उनले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै वैध मतमात्र गनिए आफूले जित्ने दावी गरेका छन् ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप फेरि लगाउँदै ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु’ भने । हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन् ।

मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको सङ्ज्ञा दिए ।

त्यस्तै बाइडनले भने मानिसहरुलाई संयमित हुन आह्वान गरेका छन् । लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिने भन्दै उनले प्रक्रियाले काम गरिरहेको उल्लेख गरेका छन् ।

प्रत्येक मतको गणना हुनुपर्नेमा उनको जोड छ । मतगणना सकिएपछि विजयी हुनेमा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई कुनै शङ्का नरहेको पनि बाइडनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस