नेकपा एमालेका नेता तथा त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष शान्तकुमार वलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा उनले ३४ वर्ष लामो राजनीतिक यात्रा टुंग्याउँदै स्वतन्त्र रूपमा जीवन यापन गर्ने घोषणा गरेका हुन्।
उनको यस निर्णयले रोल्पा जिल्लाको राजनीतिक वृत्तमा व्यापक चासो र हलचल उत्पन्न गरेको छ। वि.सं. २०४६ सालदेखि नेकपा एमालेको विचार, कार्यक्रम र मार्गदर्शक सिद्धान्तबाट प्रभावित भई सक्रिय राजनीति गर्दै आएका वलीले पछिल्लो समय पार्टी आफ्नो मूल नीति, सिद्धान्त र आदर्शबाट विचलित भएको आरोप लगाएका छन्।
उनले नेतृत्व तहमा गुटगत प्रभाव बढ्दै गएको, योग्य र क्षमतावान कार्यकर्ताभन्दा अन्धभक्त प्रवृत्तिलाई प्राथमिकता दिइएको तथा पार्टीले आफ्नै नीति–विधि र कानुनको समेत उल्लङ्घन गरेको उल्लेख गरेका छन्।वलीले लामो राजनीतिक अनुभवका आधारमा सत्ता र व्यक्तिगत स्वार्थ पूर्तिका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेका छन्। यस्तो अवस्थामा दलगत राजनीतिमा निरन्तर रहिरहन आफ्नो नैतिकताले साथ नदिएको उल्लेख गर्दै उनले पार्टी परित्याग गर्नु परेको बताएका छन्।
यद्यपि, उनले आगामी दिनमा समाजसेवामा भने सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।उनको राजीनामापछि नेकपा एमाले रोल्पाभित्र आन्तरिक बहस तीव्र बनेको स्रोतले जनाएको छ।
वलीको बहिर्गमनलाई सामान्य घटनाभन्दा पनि रोल्पाको राजनीतिमा अर्थपूर्ण मोडका रूपमा विश्लेषण गर्न थालिएको छ।


