• एउटै दृष्टि, भिन्न कोण
  • Search

ढल्यो चाम्लिङको २५ वर्षको शासन !

२०७६ जेष्ठ १० गते शुक्रवार

सिक्किम । भारतको सिक्किममा एकछत्र सरकारको नेतृत्व गरेका पवनकुमार चाम्लिङको २५ वर्षको शासन काल समाप्त भएको छ । सिक्किम विधान सभा चुनावमा आफ्नै पूर्व सहकर्मी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा ९एसकेएम०ले चाम्लिङलाई २५ वर्षपछि सत्ताबाट बहिर्गमन गरायो ।

बिहीबार सम्पन्न विधान सभा चुनावको मतगणनामा क्रान्तिकारी मोर्चाले १७ सिट जित्यो भने चाम्लिङको सत्तारुढ दल सिक्किम डेमोक्रेटिक फ्रन्ट एसडीएफ १५ सिटमा समेटियो । विधान सभा चुनावमा सिक्किममा जम्मा ३२ सिट सङ्ख्या छ । लोकसभाको एक सिट पनि क्रान्तिकारी मोर्चाले जितेको छ ।

मुख्यमन्त्री चाम्लिङले छैटौँ पटक शासन गर्ने सपना बुनेका थिए । उनको सपना आफ्नै दलबाट बाहिरिएका गोलेले पुरा हुन दिएनन् । सन् २०१४ मा क्रान्तिकारी मोर्चालाई १० सिटमा सीमित गरेर भारतमै लामो समयसम्म मुख्यमन्त्रीको रूपमा शासन गर्ने आफ्नै रेकर्ड तोडेका चाम्लिङ अब भने विपक्ष मोर्चामा बस्ने भएका छन् ।

किन ढल्यो चाम्लिङ शासन ?

भारतमै लामो समयसम्म मुख्यमन्त्री बन्ने चाम्लिङलाई केन्द्र सरकारले विशेष सहयोग गर्‍यो । भारतमा गाभिँदाका पूर्व सर्त अनुसार केन्द्रले विभिन्न क्षेत्रमा सहयोग गरेको छ । त्यसैले त्यहाँका नागरिकले चाम्लिङ विरुद्ध लामो समयसम्म विरोध गर्न सकेनन् । अर्को पक्ष भनेको उनले त्यहाँ पनि जातीय राजनीतिलाई राम्रोसँग आफ्नो कब्जामा लिए । तर अहिले त्यही कार्ड प्रयोग गरेर गोलेले उनलाई विस्थापित गरिदिए ।

विपक्ष गोलेले अहिले लिम्बु र तामाङ समुदायलाई आरक्षण दिन नसकेको विषयलाई आफ्नो चुनावी एजेन्डा बनाए । चुनावपछि गठन हुने सरकारले लिम्बु र तामाङ समुदायलाई आरक्षण दिने प्रतिबद्धता जनाएको गोले नेतृत्वको दलले त्यसैको जगमा टेकेर चाम्लिङलाई विस्थापन गरेको हो । तर गोले आफू भने भ्रष्टाचारको अभियोगमा जेल परेकाले चुनाव लड्न पाएनन् ।

सिक्किममा सन् १९९४ मा चाम्लिङले आफ्नै पूर्वसहकर्मी नरबहादुर भण्डारीको सिक्किम सङ्ग्राम परिषद्लाई पराजित गरेर शासन सत्ता आफ्नो हातमा लिएका थिए । त्यसपछि उनी अहिलेसम्म निरन्तर सत्तामा थिए । चाम्लिङले जसरी भण्डारीलाई मुख्यमन्त्रीबाट विस्थापित गरेका थिए, त्यसैगरी अहिले फेरि चाम्लिङका पूर्वसहकर्मी गोलेले चाम्लिङलाई पराजित गरे ।

चुनावी मैदानमा मुख्य दुई दल बाहेक भारतीय जनता पार्टी, अखिल भारतीय काँग्रेस, भाइचुङ भुटिया नेतृत्वको हाम्रो सिक्किम पार्टी लगायत अन्य स्वतन्त्र पार्टी समेत चुनावी मैदानमा उत्रिएपनि कुनै पनि दलले राम्रो मत ल्याउन सकेनन् ।

सिक्किममा ६ लाख जनसङ्ख्या रहेको छ । लोकसभा वा विधान सभा दुवै चुनावमा अहिलेसम्म कुनै पनि राष्ट्रिय दलले जित्न सकेका छैनन् । सिक्किम भारतमै सबैभन्दा कम जनसङ्ख्या भएको राज्य समेत हो । सिक्किम सन् १९७५ मा भारतमा विलय भएको थियो ।

प्रतिक्रिया दिनुहोस