गान्तोक । सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले सिक्किमका जनताले दिएको जनमतलाई स्वीकार एवं स्वागत गर्दै विजयी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलाई बधाई दिएको छ। अर्कातिर, राज्यका जनताले एसडीएफलाई योपाली विपक्षीको जिम्मेवारी सुम्पेको बताउॅंदै एसडीएफले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने बताएको छ।
प्रवक्ता भीम दाहालले विगत २५ वर्षदेखि एसडीएफ पार्टीलाई निरन्तर समर्थन गरेर सत्तामा राखेकोमा सिक्किमे जनताप्रति आभार प्रकट गरे। जनताले एसकेएम पार्टीलाई साधारण जनमत प्रदान गरेको, तर एसडीएफलाई भने एक शक्तिशाली विपक्षीको रूपमा जनमत प्रदान गरेको उनले दाबी गरे। अन्य एक प्रश्नको जवाफमा प्रवक्ता दाहालले कतिपय कमी कमजोरीहरूका कारण पश्चिम जिल्लामा पार्टीले राम्रो प्रदर्शन गर्नु नसकेको बताए।


