• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रचण्डले समेत राजतन्त्रकै सपना देख्न थालेका छन् !

२०७६ साउन २४ गते शुक्रवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही दिनअघि दिएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अभिव्यक्ति आपत्तिजनक, हतास मानसिकताको उपज र संविधानको भावना विपरित रहेको बताएका छन् । धुलिखेलमा भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रचण्डको भनाइ जनयुद्धकालिन भाषा शैली र अधिनायकवादी सोचको द्योतक भएको भन्दै प्रधानमन्त्री भइसकेको र फेरि प्रधानमन्त्री हुन इच्छा राख्ने व्यक्तिले यस्तो अभिव्यक्ति दिनु अशोभनीय भएको टिप्पणी गरे । १ सय गुरिल्ला, एउटा भरुवा बन्दुक र एउटा पेस्तोलबाट राज्य सत्ता र तत्कालीन व्यवस्थालाई च्यालेन्ज गर्ने प्रचण्ड १७ हजार मान्छे मर्ने र मराउने कार्य गर्न सक्ने असाधारण क्षमता र आँट भएको व्यक्ति भन्दै थापाले काङ्ग्रेस र एमालेलाई सिद्धान्त च्युत गर्न पनि गज्जबले सफल भएको टिप्पणी गरे । काङ्ग्रेसलाई वीपीको विचार र एमालेलाई मदन भण्डारीको विचारबाट च्युत गराउन प्रचण्ड सफल भएको भन्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता विदेशी एजेन्डा भित्र्याउन समेत उनी सफल भएको थापाले चर्चा गरे ।

यस्तो सफल मान्छे राजसंस्था र राजसंस्था पक्षधर सङ्ग तर्सिनु चाहिँ आश्चर्य भएको थापाको टिप्पणी छ । अरुलाई सिद्धान्त च्युत गरे जस्तै राप्रपाको चट्टानि अडानको कारण सिद्धान्त च्युत गर्न नसक्दा छट्पटी भएको थापाले आरोप लगाए । राष्ट्रिय सार्वभौमिकता, एकता र अखण्डता बाहेक सबै परिवर्तनिय भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको वैचारिक विकल्प राप्रपाले मात्र दिन सक्ने दाबी गरे । भ्रष्टाचार गर्ने, बेरोजगार बढाउने, विकास नगर्ने, विदेशीको चाकरी गर्ने, राष्ट्रियता कमजोर बनाउने काम तीब्र गतिमा भएकोले आगामी दिनमा राप्रपा बिकल्प बनेर अगाडि आउने थापाको कथन छ । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा र बुद्धिमान तामाङले पार्टीलाई बलियो शक्ति बनाउन देशब्यापी अभियान संचालन गर्ने बताए । प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागीता रहेको र प्रशिक्षणमा पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस