• एउटै दृष्टि, भिन्न कोण
  • Search

२०१८ की मिस नेपाल अर्थ पृया सिग्देल साझा पार्टीमा !

२०७६ साउन २६ गते आइतवार

गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देल भन्छिन्: “मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ। तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।”

सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ। यो निर्णयले आम युवाहरुलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने हामीले विश्वास लिएका छौं।

डा सूर्यराज आचार्य 
प्रवक्ता, साझा पार्टी 

प्रतिक्रिया दिनुहोस