• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रधानमन्त्रीले ट्विट गर्दै भने– म ठीक छु !

२०७६ साउन २७ गते सोमवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर करिब दस दिनपछि सोमबार स्वदेश फिर्ता भए । सिंगापुरबाट स्वास्थ्योपचारपछि फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा खासै प्रतिक्रिया दिएनन् । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारी वृत्तका बीचमा घेरिएका बेला ‘मेरो स्वास्थ्यावस्था हेर्दै थाहा भयो होला नि १’ भन्ने बाहेक उनले केही भनेनन् पनि ।

सचिवालयले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराउन जरुरी ठानेन । विमानस्थलमा स्वास्थ्यका बारेमा कुनै सूचना नदिएका प्रधानमन्त्री ओलीले दिउँसो ट्विटरमार्फत सामान्य जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले ट्विटमार्फत ‘आफू ठीक रहेको’ जानकारी गराएका हुन् । उनले व्यक्तिगत ह्यान्डलमार्फत् ट्विट गरेका छन्, “ सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु । मेरो स्वास्थ्य सामान्य रहेको छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी–दाजुभाइहरूलाई धन्यवाद दिन चाहन्छु ।”

तथापि, प्रधानमन्त्रीको सचिवालयले पत्रकार सम्मेलन गरेर मुलुकका प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे जानकारी नगराएकाले अन्यौल निवारण भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस