• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा ‘कर्णाली’ विवादः संघिय राजधानीमा नेताहरूको दौडधुप !

काठमाडौ २०७७ असोज २९ गते बिहिवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न दुवै पक्षका नेताहरू काठमाडौँ आइ शिर्ष नेताहरूसँगको भेटवार्तामा लागेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य तथा सांसद चन्द्रबहादुर शाही, सांसद अम्मरबहादुर थापा र समस्या समाधानकालागि सुर्खेत पुगेका केन्द्रीय सदस्य नीरज आचार्य बुधबारै काठमाडौँ फर्केका थिए।

अविश्वासको प्रस्तावको नेतृत्व गर्ने यमलाल कँडेल र सांसद गुलावजङ्ग शाह तथा दाहाल समूहका पार्टी प्रदेश कमिटी सचिव माया शर्मा भने बिहीबार मात्रै आइपुगेका हुन् ।काठमाडौँ झरेलगत्तै यामलाल कडेलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । खुमलटारबाट उनी बालुवाटार पुगेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

स्रोतका अनुसार दुवै पक्षका नेताहरूले एकअर्को पक्ष र आआफ्नै पक्षसँग भेटवार्ता गरेपछि मात्रै संयुक्तरूपमा दुवै अध्यक्षसहित बसेर विवाद निरूपणबारे छलफल गर्ने तयारी गरिरहेका छन। दुवै पक्षले एकअर्कासँग र आफ्नै पक्षसँग छलफल गर्ने भएकाले बिहीबारका लागि तय भएको संयुक्त छलफल शुक्रबार मात्रै हुने भएको छ ।

‘आज बिहीबारसम्ममा आइपुग्नु भनिएको हो। हामी आइपुगेका छौँ’, नेकपा कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका यमलाल कँडेलले रातोपाटीसँग भने, ‘सायद अब भोलि मात्रै संयुक्त छलफल होला। ’यसअघि बुधबार काठमाडौँ आएका मुख्यमन्त्री शाहीले पनि बिहीबार बिहान खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन् भने प्रकाश ज्वाला, नीरज शाही लगायतले बुधबारै कोटेश्वर पुगेर नेता माधवकुमार नेपाललाई भेटेका छन् । त्यसक्रममा उनीहरूले विवादको कारण र समाधानको उपायका बारेमा समेत जानाकारी गराएको बुझिएको छ ।

बुधबार बेलुका नेता नेपालले सुर्खेतबाट आएको आफ्नो पक्षको टोलीले भेट गरेको भोलिपल्ट अर्थात आज बिहान नेता नेपालले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । प्रचण्ड र नेपाल समूह साझा रणनीतिका साथ संयुक्त छलफलमा प्रस्तुत हुने तयारीमा छ। त्यस्तै कँडेलको समूह पनि प्रचण्डलाई भेटेपछि ओली लगायतका नेताहरूसँग भेटेर एकसरो रणनीति बनाउने तायरीमा जुटेको छ ।

‘दुवै पक्ष काठमाडौँ आएर एकअर्का र आफ्नो समूहका नेताहरूसँगको भेटघाट चलिरहेको छ’, एक केन्द्रीय सदस्यले भने, ‘ती भेटवार्तामा एकले अर्काको कुरा बुझ्ने र आआफ्नो तर्फबाट रणनीति बनाउने काम भएको हुन सक्छ ।’ उनले पहिला आफ्नो समूहको साझा रणनीति बनाएर मात्रै संयुक्त छलफलमा बस्ने तयारी भइरहेको बताए ।

संयुक्त छलफलमा विवादबारे सहमति जुटाउने प्रयास गरिने अर्का एक नेताले जानकारी दिए । ‘शीर्ष नेताहरू पनि सुरुमा दुवै पक्षका कुरा सुन्ने र त्यहीअनुसार आफ्नो पक्षलाई बटमलाइन बनाउन निर्देशन दिने तयारीमा लागेको बुझिन्छ’, ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस