• एउटै दृष्टि, भिन्न कोण
  • Search

बाजुरा जेलबाट रिहा भएका चुडामणि ओली ‘आदर्श’सहित १२ जनालाई नेकपाद्वारा भव्य स्वागत

काठमाडौ २०७८ असार २४ गते बिहिवार

असार २४, बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १२ जना नेता तथा कार्यकर्तालाई नेकपा बाजुराले भब्य स्वागत गरेको छ ।

सर्बोच्च अदालतको आदेशबाट झन्डै २० महिनापछि बाजुरा कारागारबाट रिहा भएका उनिहरुलाई विहिबार बाजुराको सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको हो ।

राजबन्दीलाई स्वागत गर्न आएका जनताले बाजुरा जिल्ला अदालतको गेटबाट सांस्कृतिक झाकीसहित र्याली निकालेका थिए । र्यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा पुर्व सभासद, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज डबल बहादुर शाहले जेलको मोर्चा जितेर आएका राजबन्दीहरुलाई स्वागत गरेका थिए ।

उनले जेल पनि एउटा क्रान्तिको पाटो भएको बताउदै दलाल सत्ताले लगाएको झुट्टा मुद्दाले क्रान्तिकारीहरुलाई झनै स्पातिलो बनाउने बताए । शाहीले भने- ‘जेलको मोर्चा पनि एउटा क्रान्तिको पाटो नै हो, उहाहरुले जितेर आउनुभएको छ, सबैलाई खुल्ला आकाशमा स्वागत गर्दछौ’, ।

उनले अहिलेको दलाल संसदीय व्यवस्थाबाट जनता आजित भैसकेको बताउदै अब जनताको मतबाट बैज्ञानिक समाजबाद ल्याएरै छोड्ने बताए । उनले आफ्नो पार्टीले अगाडी सारेको जनमतसंग्रहले नेपालको गन्जागोल राजनीतिलाई सहि ठाउमा ल्याउने दाबि समेत गरे ।

उनले भने- दलाल संसदीय व्यवस्था फाल्नको लागि सबै एक जुट हुने बेला भएको छ, अहिलेको राजनीतिक अराजकता, भ्रष्ट नेता जनप्रतिनिधि र दलाल पोस्ने व्यवस्था फाल्न हामीलाई साथ् दिनुपर्नेबेला आएको छ, जनताले मात्र होइन सच्चा देशप्रेमी नेता, दल, व्यापारी, बुद्दिजीवी सबैले साथ् दिनुपर्छ, यो अहिलेको आवश्यकता हो।’,

यस्तै कार्यक्रममा जेलमुक्त भएका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय, सबै पार्टी पंक्तिका नेता तथा कार्यकर्ता, बाजुरा जिल्ला कमिटी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुङ्गाना, बाजुराका पूर्ण रावत, हर्क खडायत लगाएत आफुहरुलाई रिहा गर्न सहयोग गर्ने सबै वकिल समर्थक, शुभचिन्तक, र आम जनसमुदायलाई धन्यबाद दिएका थिए ।

उनले आफ्नो पार्टीले राम्रो काम गरेको देख्न नसकेर दलाल व्यवस्थामा चुर्लुम्म डुबेकाहरुले षड्यन्त्र गरेर आफुहरुलाई झुट्टा मुद्दा लगाएर कारागार समेत पुर्याएको बताए । उनले भने- ‘हामी जेल, हिरासत जानु भनेको हाम्रो पार्टी प्रति जनाता आ कर्षित भएर हो, हाम्रो पार्टीले राम्रो काम गरेपछि आत्तलिएकाहरुले यस्तो कदम चालेका हुन्,हामी भ्रष्टचारि, दलालहरुको भण्डाफोर गर्दै हिड्यौ , उनीहरुलाई त्यो मन परेन, प्रतिबन्ध लगाए, जेल हिरासत पुर्याए, तर हामी गलत प्रवृतिका बिरुद्ध बोल्न र लड्न छोडेका छैनौ र छोफ्नेवाला पनि छैनौ।’,

उनले आफुहरुको गिरफ्तारिमा तत्कालिन बाजुराका डिएसपी उद्दव सिंह भाटले गरेका कुकृति, हिरासत भित्र दिएको यातना, झुट्टा मुद्दा र कारागारमा आफुहरुले गरेको कामबारे र राजबन्दीलाई कारागार भित्र गरिएको अपमानबारे जनतालाई जानकारी दिएका थिए । उनले अहिलेको दलाल पोस्ने व्यवस्थाले गरेको भ्रष्टाचार, जनप्रतिनिधिको बदमासी र भ्रष्टाचारले सिमा नाघिसकेको बताए । उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताका सुख दुखका कुरा सुन्ने भन्दा पनि भ्रष्टाचारमा लिप्त भएर जनताकै आगाडी नाङ्गो नाच देखाइरहेको आरोप लगाए ।

आदर्शले आफ्नो पार्टी र नेपाल सरकार विच भएको ३ बुंदे सहमति इमान्दारसंग पालना गर्न तयार भएको बताए । तर सरकारले पालना गर्न इमान्दारिता नदेखाएको उनको आरोप थियो ।

उनले भने- ‘हामी ३ बुंदे सहमतिमा इमान्दार हुँदाहुँदै पनि सरकारले लापरवाही गरिरहेको जस्तो महसुस भएको छ, हामी अझै पनि विस्वस्त छौ सरकारले सहमति पालना गर्ने छ।,’

आफ्नो पार्टीले आगालेको जनताको व्यवस्था स्थापना गर्ने उत्तम विकल्प जनमत संग्रह भएको भन्दै बैज्ञानिक समाजबादमा पुग्ने अभियानलाइ सबै जनताले साथ दिन आग्रह समेत गरेका छन ।

उनले यो विषयलाई सबै पार्टी र जनताले गम्भीरताका साथ् लिनुपर्ने बताए । संसदीय व्यवस्था पुरै फेल भएको अवस्थामा जनमत संग्रह नै उत्तम विकल्प भएको आदर्शको भनाई छ ।

कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी बाजुराका जिल्ला सेक्रेटरी भुपेन्द्र विक ‘एन्विज’ले गरेका थिए । स्वागत कार्यक्रममा ठुलो संख्यामा जनता उपथित भएको बताइएको छ ।

को-को भए रिहा ?

बजुरा कारागारमा करिव २० महिनादेखि बन्दि जीवन बिताइरहेका १६ जना नेता-कार्यकर्तामध्ये सर्बोच्च अदालतले मंगलबार १४ जनालाई मात्र रिहा गर्न आदेश दिएको थियो । एउटै समयमा एकै ठाउँबाट पक्राउ गरिएकामध्ये धर्मसिंह बोहोरा र कृष्ण विक भने रिहा भएका छैनन् ।

नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जना कार्यकर्ता बाजुरा कारागारबाट रिहा भए, तर दुईजनाको मुद्दा अछाममा भएको भन्दै रिहा लगत्तै प्रहरीले पक्राउ गर्यो । पक्राउ पर्नेमा अछाम ढकारी गाउँपालिका २ का राजेशकुमार शाही र कैलाली घोडाघोडी नगरपालिका १ का धर्मराज सुनार रहेका छन् । तर धर्मराज सुनारलाई भने अछाम प्रहरीले बुधबार (हिजो) नै रिहा गरेको समाचारमा जनाइएको छ ।

यस्तै रिहा हुनेहरूमा रोल्पाको गंगादेव गाउँपालिका ३ का चुडामणि ओली ‘आदर्श’, बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका १ की किर विक, अस्मिता विक., सुस्मिता विक, अछाम जिल्ला ढकारी गाउँपालिका वडा नं. २ की कमला विक, बझाङ मस्टा गाउँपालिका १ की सृष्टि सिंह, अछाम ढकारी गाउँपालिका २ का नरेश शाही, बाजुरा हिमाली गाउँपालिका १ का अम्मलाल थापा र धर्मबहादुर थापा रहेका छन् ।

यस्तै अछाम विनायक पञ्चदेवल नगरपालिका ८ का उदय कसेरा, डबलबहादुर नेपाली र बाजुरा त्रिवेणी नगरपालिका २ का डम्बरबहादुर सुनार रहेका छन् ।

२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पछि उनीहरुलाई पुर्पक्षका लागि जिल्ला अदालत बाजुराले कारागार पठाएको थियो ।

उनीहरू सबैलाई राज्यविरुद्धको कसुर, विस्फोटक पदार्थ र सङ्गठित अपराध मुद्दा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस