नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्रीले रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय चुनावमा पराजित भएपछि गाउँपालिका इन्चार्ज पदबाट राजिनामा दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र)लाई पालिकामा जिताउन नसकेको भन्दै पार्टी गाउँकमिटीको इन्चार्ज पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।
‘गंगादेव गाउँपालिका रोल्पामा माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताको आधारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँपालिका इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएकोबारे जानकारी गर्दछु ।’ जिल्ला इन्चार्जलाई सम्बोधन गर्दै उनले फेसबुकमा लेखेका छन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिकामा बहुमत वडा सहितको अध्यक्ष निर्वाचित भएका खत्री यसपटकको निर्वाचनमा भने तेस्रो भएका छन् । पार्टी पालिका इन्चार्ज रहेका उनी माओवादी केन्द्रका तर्फबाट अध्यक्षका प्रत्यासी थिए । माओवादी केन्द्रले यसपटक १ जना वडा अध्यक्ष मात्र जितेको छ भने नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित ५ वटा वडामा जित हासिल गरेको छ ।