• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रहरी र विप्लवका कार्यकर्ताबीच झडप

२०७६ जेष्ठ ७ गते मङ्गलवार

भोजपुरको ट्याम्के मैयुम गाउँपालिकामा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच झडप भएको छ । त्यसमा विप्लवका एक कार्यकर्ता घाइते भएका छन् ।

मंगलबार दिउँसो ट्याम्के–मैयुम गाँउपालिका–१, मैयुमडाँडामुनिको धोद्लेखानी जंगलमा हतियारधारी समूह रहेको र हतियारसहित हिँडडुल गरी स्थानीयलाई त्रसित बनाएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुर र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोली गस्तीमा निस्किएको थियो ।

त्यस क्रममा हतियारसहित सोही स्थानमा बसेका करिब १५ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा एकजनाले प्रहरी टोलिमाथि फाइरिङ गर्न खोजेका प्रहरीको भनाइ छ । त्यसपछि प्रहरीले जबाफी फायरिङ गरेको थियो । प्रहरी टोलीमाथि आक्रमण गर्न खोज्ने भोजपुर षडानन्द नगरपालिका–२ का ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । समूहका अन्य सदस्य भने फरार छन् ।

प्रहरीको नियन्त्रणमा रहेका घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली पाँच थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर चार थान, २० मिटर डेटोनेटर कर्ड, बारुद र नेपाल कम्युनिस्ट पाटीको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घाइते घिमिरेलाई उपचारका लागि सदरमुकामतर्फ लगिएको र अन्य फरार व्यक्तिहरुको खोली भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस