• एउटै दृष्टि, भिन्न कोण
  • Search

नन्दु ज्ञवाली- बर्माकै एक चर्चित महिलावादी !

२०७६ जेष्ठ ११ गते शनिवार

बा बिरामी हुनुहुन्थ्यो। आमा ‘पर सरेका’ ले हामी आठदेखि १२ वर्षका केटाकेटीले खाना पकाएर बाआमालाई दिन्थ्यौं। हाम्ले खान्थ्यौं। बिरामी बा एक दिउँसो घरमा ढल्नुभयो। म सानै थिएँ। आमालाई बोलाएँ। आमा बाको नजिक आउनुभयो। तर, बालाई छुँदै छुनुभएन। ‘छुई’ भएका बेला पुरुषलाई छुनुहुन्न भन्ने धारणा उहाँको मनमा गडेको थियो। बा त्यही दुर्घटनापछि बितेर जानुभयो।

नन्दु ज्ञवालीले पहिलो भेटमै मलाई सुनाइन्। उनीसँग यो भेट जुराउन मलाई हम्मे परेको थियो।

मेरो जागिर सेलिब्रेटीहरूसँग काम गर्ने छ। नेता हुन् वा खेलाडी, उद्यमी-व्यापारी हुन् वा कलाकार। पत्रकार हुन् वा लेखक। उनीहरूलाई भेट्यो, टिभी कार्यक्रमका लागि बोलायो। गाउँ-बस्तीमा उनीहरूलाई लग्यो। त्यहाँका बासिन्दासँग अन्तर्क्रिया गरायो। खिच्यो। अनि प्रसारण गर्‍यो।

नेपालमा टिभी/रेडियो कार्यक्रम ‘साझा सवाल’ मा जे गर्थेँ, बर्मामा त्यही गरिरहेको छु। पोहोरदेखि बर्मामा नेपाली सेलिब्रेटी खोज्ने धुन चढेको, अझै रोकिएको छैन।

यहाँका पत्रपत्रिका, टिभीमा को-को बर्मेली नेपालीको चर्चा छ भनेर खोजिरहन्छु। मलाई बर्मेली भाषा आउँदैन। त्यसैले यहाँका अंग्रेजी पत्रिकामा कतै गोर्खालीबारे छापिइहाल्छ कि भनेर खोजिरहन्छु। गुगल गरिरहन्छु।

फेरि यहाँका गोर्खालीका नाम बर्मेलीकरण भइसकेका छन्। को नेपाली हो, को होइन भनेर छुट्याउन अप्ठ्यारो।

बर्मेलीकरण गर्ने धूनमा यहाँ के हिन्दु, के मुसलमान, सबैजसोको नाम बर्मेली बनाइएको छ। जस्तो- दोभाषे भएर मलाई सहयोग गर्ने बर्मेली नेपाली साथीको नाम तिहा आङ। मसँगै काम गर्ने बर्मेली मुसलमान साथीको नाम च्व मिउ टुन।

तिहाले मलाई एकदिन आफ्नो खास नाम कैलाश हो भनेर सुनाए। अनि च्व मिउले अफसर मोहम्मद।

आफ्ना पूर्खाबाट आएका जातीय, धार्मिक र क्षेत्रीय नाम थर राख्दा विभेद हुन्छ भनेर परिवर्तन गर्नेहरू बर्मामा लाखौं छन्।

‘गोर्खाली सेलिब्रेटी’ खोज्ने धुनमा फेला परेकी हुन् नन्दु ज्ञवाली।

‘जम्मा २३ वर्षको युवावयकी नन्दु बर्माकी सबभन्दा चर्चित महिलावादीमध्ये एक हुन्,’ भ्वाइस अफ अमेरिकाले नोभेम्बर २१, २०१८ मा लेखेको थियो।

मैले नन्दुलाई पोहोर फागुनमा पत्ता लगाएको हुँ। गुगल गरेरै। बर्माको चर्चित टिभी च्यानल डिभिबीको वेबसाइटमा नन्दुले अंग्रेजीबाट बर्मेली भाषामा अनुवाद गरेर प्रकाशन गरेको किताबबारे समाचार थियो।

प्रसिद्ध महिलावादी लेखिका दिची चीमामान्ता ङोजीको ‘वी शुड अल बी फेमिनिस्ट’ (हामी सबै नारीवादी हुनुपर्छ) किताब नन्दुले अनुवाद गरेकी थिइन्। त्यसै अवसरमा डिभिबी च्यानलले अंग्रेजी संस्करणको वेबसाइटमा नन्दुको अन्तर्वार्ता राखेको थियो।

अन्तर्वार्ता पढेपछि मैले नन्दुलाई फेसबुकमा खोजेँ। म्यासेन्जरमा सन्देश पठाएँ, ‘म नेपाली पत्रकार। तपाईंसँग कुरा गर्न समय चाहन्छु।

उनले दुई साताको प्रतीक्षापछि जवाफ फर्काइन्, ‘म अहिले ‘योनीका कथाहरू’ (भजाइना मनोलग) लाई पहिलोपटक बर्मामा प्रस्तुत गर्ने काममा व्यस्त छु। तपाईंलाई फुर्सद भए शनिबार कार्यक्रम हेर्न आउनू। त्यहीँ भेटौं।

म उनले भनेको समय र स्थानमा पुगेँ। हल’ भरिइसक्यो भनेर त्यहाँका स्वयंसेवकले भित्र छिर्न दिएनन्। नन्दुको न फोन उठ्यो, न फेसबुक म्यासेन्जरमा जवाफ आयो।

डेढ घन्टाजति हलबाहिर कुरेर म निराश भई डेरा फर्कें।

त्यसको भोलिपल्ट नन्दुले माफी माग्दै जवाफ फर्काइन्, ‘अब छिट्टै भेट्नुपर्छ।

त्यो साताभर बर्माका अंग्रेजी र विभिन्न अन्तर्राष्ट्रिय समाचारमा भजाइना मनोलग’ कार्यक्रम पहिलोपटक प्रस्तुत भएको समाचार थियो। म काम गर्ने संस्था बिबिसीमा पनि नन्दुको अन्तर्वार्ता आयो। मैले भने अझ भेट्न पाएको होइन।

नन्दु विभिन्न गोष्ठी र सम्मेलनमा अतिथि वक्ता बनेर गएको समाचार आइरहन्थ्यो। नेपालभन्दा करिब पाँच गुणा ठूलो देश बर्मामा उनी कहिले पूर्वीउत्तरका डाँडामा पुग्थिन् त कहिले दक्षिण-पश्चिमका तराईमा।

मलाई ‘यात्रामा छु’ भनिरहन्थिन्।

दीपक भट्टराई – सेतोपाटी

प्रतिक्रिया दिनुहोस