२०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्मित क्रममा रहेको धरहरा आज शनिबार उद्घाटन भएको छ। भूकम्पको कारण ढलेको धरहरा ६ वर्षपछि निर्माण चरण मै आज लोकतन्त्र दिवसको दिन हतारोमै प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित व्यक्तिहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन्। शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।
प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए। ‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ, मलाई आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए।कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा उद्घाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन ।२२ तला रहेको धरहरा पूर्णरुपमा तयार भइसकेको छैन। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगितमय फोहरा हुनेछ।
पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ। विसं १८८१ मा तत्कालीन प्रधानमन्त्री भीमशेन थापाले बनाएको ११ तले धरहरा १९९० को भूकम्पले ढलेको थियो। त्यसपछि विसं १९९२ मा ९ तला रहने गरि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गरेका थिए।