लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।
लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

कांग्रेस निकट मानिने पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।
रेग्मी लोक सेवा आयोगको पूर्वसचिव हुन् । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।