• एउटै दृष्टि, भिन्न कोण
  • Search

बिपिका किताब पढेपछि कांग्रेस बनेका रोल्पाका २२ वर्षीय नेता योगेन्द्र अनुपम

दाङ २०७८ मङ्सिर १८ गते शनिवार

रोल्पाको लुंग्री गाउँपालिका-४ सिर्पका २२ वर्षीय योगेन्द्र अनुपम घर्ती क्षेत्री नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि भए।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने जिल्लाकै कम उमेरका उनी युवा नेता हुन्। उनले चार सय ५६ मत प्राप्त गरेका छन्।


२०७२ सालमा रोल्पाको बालकल्याण उच्च माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति बनेका थिए।

उनका बुवा भूमबहादुर घर्ती कांग्रेसमा आस्था राख्ने सामान्य कार्यकर्ता थिए। तर योगेन्द्र भने नेकपा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा लागे। उनले आफ्नो विद्यालय बालकल्याण उच्च माविमा उक्त संगठनको सचिव पनि भएका थिए।

‘नेविसंघ हुनुभन्दा पहिला म क्रान्तिकारी बन्ने सुरमा थिएँ। बालकल्याण उच्च माविको अनेरास्ववियु क्रान्तिकारीको सचिव भएको थिएँ,’ योगेन्द्रले भने ‘त्यही बीचमा मैले बिपीले लेखेका किताब पढेँ। अनि मलाई कांग्रेस नै ठिक लाग्यो।’

बिपीका किताब पढेपछि कांग्रेसले अंगालेको लोकतान्त्रिक समाजवाद राम्रो व्यवस्था हो भन्ने आफूलाई लागेको उनले बताए। तर कांग्रेसले लोकतान्त्रिक समाजवादको कार्यान्वयनलाई भने फितलो बनाएको उनको बुझाइ छ।

‘अब त्यसरी हुन्न। विचार सिद्धान्त समयानुकूल भएनन् भने सुधार गर्नुपर्‍यो। नभए पार्टीका कमजोरी सुधार गर्नुपर्‍यो। लोकतान्त्रिक समाजवाद पार्टीमा जीवनमा अनि देशमा लागु गर्न जरूरी छ,’ उनले भने।

योगेन्द्र बीचमा पत्रकारिता पनि गरेका थिए। राजनीति गर्न उनले त्यो काम छोडिदिए।

भन्छन् ‘पत्रकारितालाई राजनीतिसँग गिजोल्नु हुन्न, पत्रकारितालाई फरक राख्नु पर्छ।’

अहिलेमात्र उनी पार्टी राजनीतिमा सक्रिय भएका हुन्।

योगेन्द्रको बुझाइमा राजनीति विशुद्ध सामाजिक सेवा हो। राष्ट्रको नीति नागरिकलाई बुझाउने र देश विकास गर्नको लागि राजनीति चाहिने उनले बताए।

कांग्रेसभित्र यस्तो काम गर्ने नेताहरू उनलाई मन पर्छन्। अहिले उनलाई मन पर्ने नेताहरू शेखर कोइराला र गगन थापा हुन्।

हामीले सोध्यौं यी नेता तपाईंलाई किन मन पर्छन्?

‘उहाँहरू कुनै पनि मुद्दामा स्पष्ट बोल्नुहुन्छ र पार्टी कस्तो बनाउनु पर्छ भन्ने उहाँहरूमा भिजन पनि छ,’ योगेन्द्रले अगाडि भने,‘उहाँहरूमा नेतृत्व क्षमता छ। कार्यकर्ता र पार्टीलाई जोड्न सक्ने खुबी छ।’

उनले अझै सम्झिएर थपे, ‘साथै यी दुई नेतामा अरू पार्टीसँग खरो रूपमा उत्रने वैचारिक क्षमता समेत प्रचुर रहेको हुँदा मलाई उहाँहरू मन परेको हो,’ उनले भने।

त्यसैले यो पटक केन्द्रीय सभापतिमा उनले शेखर कोइरालालाई नै भोट दिने छन्। उनी नै सभापति हुनुपर्छ भन्ने उनलाई लाग्दोरहेछ।

योगेन्द्र शिक्षित, ज्ञानी र हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सफल युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने ठान्छन्।

जति मानिस शिक्षित र चेतनशील बन्दै जान्छ उति नै लोकतन्त्र मजबुत बन्दै जाने योगेन्द्रको बुझाइ छ।

‘त्यो आफैंले व्यवहारिक रूपमा हासिल गरेको ज्ञान होस् वा शैक्षिक रूपमा प्राप्त ज्ञान होस् चेतना र ज्ञान भएका मानिस जति भयो समाजमा लोकतन्त्र त्यति नै मजबुत हुन्छ।

रोल्पाजस्तो माओवादीको उद्गमस्थलमा राजनीति गर्न चुनौतीपूर्ण रहे पनि जनता शिक्षित हुँदै गएमा लोकतन्त्रप्रतिको आकर्षण बढेर जाने उनको विश्वास छ।

‘हिजो हामीलाई रोल्पामा कांग्रेस हौं भनेर बोल्न पनि गाह्रो थियो, हेर्नुस् न आज धेरै सहज भइसक्यो,’ उनले अगाडि भने, ‘साँच्ची जीवन उपयोगी र व्यवहारिक शिक्षा समयमै दिन सक्ने हो भने कांग्रेस प्रतिको लहर नै पैदा हुने छ। त्यस्तो शिक्षाका लागि कांग्रेसले नै पहल गर्नुपर्छ।’

राज्यको असमान विकासले रोल्पाजस्ता विकट भूमिका बासिन्दा अधिकार प्राप्तिकै लागि समेत विद्रोही बन्ने हुँदा राज्यको उपस्थिति सबैतिर समान हुनुपर्ने उनले तर्क गरे।

राजनीतिकै माध्यमबाट आफू नीति निर्माण तहमा पुग्ने सपना संगालेका योगेन्द्रले आफू पुगेपछि दुर्गम क्षेत्रको विकासकै लागि काम गर्ने वाचा आफैंसँग गरेका छन् रे।

उनले अहिले चलिरहेको कांग्रेस भित्रको गुटगत राजनीति पटक्कै मन नपर्ने बताए।

‘कांग्रेसभित्र गुटगत राजनीति यति धेरै मौलाएको छ कि, त्यसैमा टेकेर कम्युनिष्टले राजनीतिक लाभ उठाइरहेका छन्,’ उनले भने, ‘आम निर्वाचनमा पार्टीभित्रकै फरक गुटका उम्मेदवारलाई हराउन कम्युनिष्टलाई भोट हाल्नेहरू पनि छन्। यो गुटबन्दीको विकृति हो।’

लोकतान्त्रिक पार्टी भएको नाताले चुनावमा हुने हारजितलाई सहर्ष स्वीकार्ने हृदय नेतृत्वमा हुनुपर्ने उनले बताए।

कांग्रेसले आफ्नो विगत र विरासत बिर्सदै गएको जस्तो पनि उनलाई लाग्दो रहेछ।

‘विगतको छवि जोगाउन पनि सक्षम नेतृत्व आउन आवश्यक छ,’ उनले भने।

त्यस्तै उनले समाजमा अलोकप्रिय, समाज र राष्ट्रप्रति जवाफदेही नबन्ने व्यक्तिहरू कांग्रेसको नेतृत्वमा आउन नहुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस