दाङका रोशनी महतरा र शरद आचार्य हत्या काण्ड बँदेल मार्न समुहबाट भएको तथ्य खुलेको छ । उनीहरु दुबैको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा असोज ३० माटोले पुरेको अवस्थामा फेला परेको थियो ।
‘तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ बर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ बर्षीय शरद आचार्यको मृत्यु बंदेल मार्न थापेको बिद्युतिय धरापमा परेर भएको पुष्टि भयो,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसबारे सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरि जानकारी दिने छौं ।’
घटनामा संलग्न चार जना दमारगाउँका ब्यक्ति पक्राउ परेका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरुले करेन्टबाट उनीहरुको मृत्यु भइ सकेपछि बोरामा हालेर शब चिरोमा फालेको र फरुवाले माटो खनेर भाटेको स्वीकार गरि सकेका छन् ।
त्यसपछि उनीहरुले शब ब्यबस्थापनका लागि बोकेर लगेका बोराहरु उतै जलाएको प्रहरीलाई बताएका छन् ।गाउँकै चार जना ब्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए । सोही धरापमा परि रोशनी र शरदको मृत्यु भएको थियो । त्यसपछि घटना छिपाउन उनीहरुले ढुँगाले टाउको लगाएत शरिरका बिभिन्न भागमा आक्रमण गरि शब ब्यबस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।
रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरु एक अर्कालाई भेट्न असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरुको बिद्युतिय धरापमा परेर एकै साथ मृत्यु भएको पक्राउ परेका चार जनाले बताएका छन् । पक्राउ परेकाहरुको प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यो संगै हेटौंडाका टिप्पर चालक सुवाश थिङ र दमारगाउँ माइती घर रहेका सल्यानका सुशील थापा निर्दोश साबित भएको प्रहरीले बताएको छ ।
यी दुई आपसमा मिल्ने साथी हुन । अघिल्लो दिन मात्रै उनीहरुले आपसमा फोन सेटहरु साटासाट गरेका थिए । त्यही सेटमा भएको फोन नम्बर गल्तिबस सुवाशले शरदकी माउली हजुरआमालाई डायल गरेको तथ्य खुलेको छ ।
तर, प्रहरीको त्रासका कारण उनले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै आएका थिए । त्यही आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको थियो । मुद्दा चलाउने तयारी गरेको थियो । अन्तिममा गाउँघरमै केही चर्चामा रहेका युवा र बयस्कहरुलाई निगरानीमा राखेको प्रहरीले आशंका लागेर सोधपुछ गर्दा उनीहरुको घटनामा संलग्नता पुष्टि भएको हो । त्यसपछि घटनाबारे तथ्य खुलेको हो ।