रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम फेरि सुकिदह गाउँपालिका कायम गर्ने र केन्द्र हाल ५ नम्बर वडाको सानडाँडामा रहेकोमा अब वडा नम्बर २ को सुखाओडार (जिनावाङ) कायम गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
८ वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका कायम गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको थियो । असोज २०८१ मै लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने निर्णय थियो ।
२०७२ मा स्थानीय तह स्थापना हुँदा गंगादेव गाउँपालिकाको नाम सुहिदह र केन्द्र सुखाओडार (जिनावाङ) नै थियो । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेपछि सहिदको नाम भन्दै गंगादेव गाउँपालिका कायम गरिएको थियो । सुखाओडारबाट सानडाँडामा केन्द्र सारिएको थियो ।
आफ्नै श्रीमती र सालोको नाममा पालिकाको नाम राखेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष वीरबहादुर खत्रीको व्यापक आलोचना भएको थियो । विरोधकै बीचमा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले नाम र केन्द्र साविककै बनाउने चुनावी एजेण्डा लिएर निेर्वाचनमा होमोएको थियो । त्यहिँ एजेण्डकाकै कारण नेपाली काङ्ग्रेस ले दुई तिहाई बहुमत प्राप्त गरे सँगै नाम र केन्द्र फेरेर साविककै कायम फेर्ने प्रक्रिया सुरु भएको थियो । जुन प्रक्रियालाई नेकपा एमाले तथा अन्य सदस्यले साथ दिएका थिए ।