‘धानबालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा रोल्पामा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सन् २००५ (वि.सं. २०६२ साल) देखि औपचारिक रूपमा मनाउन थालिएको धान दिवस यसपालि पनि असार १५ गते उल्लासपूर्वक मनाइएको हो।

कृषि ज्ञान केन्द्र रोल्पाको आयोजनामा रोल्पा नगरपालिका–४ रुङटाबाङमा किसान, स्थानीयबासी, विभिन्न निकायका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा धान रोपेर दिवस मनाइएको हो। धान दिवसजस्तो महत्वपूर्ण दिनलाई सम्झनायोग्य बनाउन खेतमै गएर धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको थियो ।
यस अवसरमा कृषि ज्ञान केन्द्र रोल्पाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाका चार जना उत्कृष्ट कृषकहरूलाई सम्मानित गरेको छ। तरकारी खेतीमा विशेष योगदान पुर्याएकोले रुन्टीगढी गाउँपालिका–९ निवासी चन्द्र प्रकाश महरा ‘सर्वोत्कृष्ट कृषक’को रूपमा पुरस्कृत भएका छन ।
त्यसैगरी, फलफूल खेती तर्फ उत्कृष्ट कृषकको रूपमा गंगादेव गाउँपालिका–३ का भिम बहादुर खत्री, फलफूल तथा नर्सरी खेती तर्फ थबाङ गाउँपालिका–१ का निरज बुढा र तरकारी खेती तर्फ त्रिवेणी गाउँपालिका–७ का अमरसिंह खत्री सम्मानित भएका छन्। कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएका यी कृषकहरू आफ्नो मेहनत र सिर्जनशीलता मार्फत जिल्लाका अन्य कृषकहरूका लागि प्रेरणादायी बन्न सफल भएका छन्।
सर्वोत्कृष्ट कृषकलाई नगद रु. १०,०००, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो भने, उत्कृष्ट तीन जनालाई जनही नगद रु. ५,०००, प्रमाणपत्र र दोसल्ला प्रदान गरिएको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ।
कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख महेन्द्र कुमार ओझाको अध्यक्षतामा बाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उप-प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

