• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२ संचालन

रोल्पा २०८२ असोज १८ गते शनिवार

रोल्पाको गंगादेब गाउँपालिकामा आयोजना गरिएको “कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२” कार्यक्रम सम्पन्न भएको छ। जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा सिद्धार्थ नमुना माध्यमिक विद्यालयको सभाहलमा उत्साह पूर्वक  कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा स्थानिय श्रोतको उच्चतम प्रयोग गरी विभिन्न क्षेत्रका ब्यक्तित्व बिचमा संवाद गरिँदै विद्यार्थीलाई प्रेरणा र मार्गदर्शन प्रदान गरिएको थियो।

निवामती कर्मचारी कमलराज वली, स्वास्थ्य क्षेत्रमा डा. जगतकिरण वली, शिक्षा क्षेत्रमा नेत्रलाल वली, प्राविधिक क्षेत्रमा इन्जिनियर चूडामणि डाँगी, मूर्तिकला क्षेत्रमा टोपबहादुर डाँगी, व्यवसाय क्षेत्रमा रुद्र खड्का, संगीत क्षेत्रमा रमेश डाँगी, कृषि तथा पशुपालन क्षेत्रमा लोकमान वली, सूचना–सञ्चार तथा प्रविधि क्षेत्रमा तिलक केसी, मिडिया तथा कन्टेन्ट क्रिएसन क्षेत्रमा कुलबहादुर गुरुङ, युवा तथा खेलकुद क्षेत्रमा प्रेमबहादुर बिक, सुरक्षा क्षेत्रमा प्रहरी अधिकारी देवराज केसी र सिलाइकटाइ (टेलरिङ) क्षेत्रमा जिवराज परियार प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।

“काम सानो वा ठूलो हुँदैन” भन्ने सन्देशमार्फत सबै पेशा–व्यवसायलाई समान सम्मान दिनुपर्ने र विद्यार्थीलाई भविष्यबारे देखिने अन्योलता चिर्दै आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिइएको कार्यक्रम तेजबिक्रम वली, प्रविनकुमार वली र रस्मिता गिरीले सहजिकरण गर्नुभएको थियो।

विशेष उपलब्धिमध्ये पशुपालक लोकमान वलीले बाख्रापालन सिक्न इच्छुक युवालाई तीन महिनाको निःशुल्क तालिम दिने र एक जोडी उन्नत जातका बाख्रा उपहारस्वरूप उपलब्ध गराउने घोषणा गरे। मूर्तिकार टोपबहादुर डाँगीले मूर्तिकला सिक्न इच्छुक युवालाई निःशुल्क सीप तालिमसहित पारिश्रमिक र रोजगारीको ग्यारेन्टी दिने घोषणा गरे।

कार्यक्रम संयोजक तेजबिक्रम वलीका अनुसार यस कन्क्लेभले युवालाई स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्ने कार्य गरेको छ। भरत खड्काको स्वागत गीतबाट सुरु भएको कार्यक्रम लोकबहादुर वलीको अध्यक्षतामा संचालन भएको थियो।

प्रतिक्रिया दिनुहोस