• एउटै दृष्टि, भिन्न कोण
  • Search

मेलम्चीको ठेक्का, प्रचण्डका घरबेटीलाई !

२०७६ भाद्र २५ गते बुधवार

विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ। शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको हो। सेतोपाटीमा समाचार छ ।

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले बताए।

बिना मगर खानेपानी मन्त्री भएकै बखत उनका ससुरा नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका हुन्। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित सोही घरमा बस्छिन्।

३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको छ।

शाक्यका अनुसार शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको छ।

‘ठेक्का सम्झौता भएर निर्माण हुन चाहिने सामग्री आयात भइरहेको छ, ती सामग्रीको गुणस्तर पनि परीक्षण भइरहेको छ,’ शाक्यले भने।

शैलुङले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने छ र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ।

प्रतिक्रिया दिनुहोस