काठमाडाँै । कप्तान ज्ञानेन्द्र मल्लको शतकको सहयोगमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत काठमाडौँ गोल्डेन वारियर्सले आफ्नो तेस्रो खेलमा फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १०६ रनको फाराकिलो अन्तरले पराजित गरेको हो ।
पोखरा क्रिकेट रंगशालामा भएको खेलमा काठमाडौंले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको धनगढीले १६ ओभरका बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो ।
धनगढीका लागि पहिलो ओभरको चौथो बलमा धनगढीले आफ्नो पहिलो विकेट गुमायो । धनगढीका सन्दीप सुनार खाता नखोलेरै आउट भए । उनलाई अमित भट्टराईले क्याच आउट गराएका हुन् ।
धनगढीले पाँचौं ओभरमा आफ्नो तेस्रो विकेट गुमायो । धनगढीका श्रीमान्ता विजयरत्ने आउट भए । उनलाई पाँचौं ओभरको तेस्रो बलमा पवन सरार्फले १५ रनमा आउट गराएका हुन् ।
धनगढीका रोर्डिको जोनसन १० रनमा पेवेलियन फर्किए । उनलाई छैटौं ओभरको चौथो बलमा वसन्त रेग्मीले क्याच आउट गराएका थिए । छैटौं ओभरको तेस्रो बलमा सुशान भारीले काठमाडौंका लागि चौथो विकेट लिए ।
उनले सन्दीप जोरालाई ७ रनमा क्याच आउट गराएका थिए । धनगढीका लागि अमित यादवले ३ रन बनाउँदा सौरव खनालले ९ र कमल सिंह ऐरीले २ रन बनाएर आउट भए ।
बलिङतर्फ काठमाडौंका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट लिँदा पवन सरार्फ दुई सुबोध भाटी र अमित भट्टराईले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले पीपीएलमा पहिलो शतक बनाएका ज्ञानेन्द्रको नेपाली टोलीको कप्तान भए पनि डोमेस्टिक लिगमा पहिलो शतक हो ।
उनले नेपाली टोलीका लागि भने सागमा शतक बनाइसकेका थिए । ३८ बल खेलेका ज्ञानेन्द्रले ८ चौका र ९ छक्का प्रहार गर्दै १०० रन बनाएका हुन् । काठमाडौंले पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो ।
काठमाडौंका गोरव तोमर खाता नखोलेरै आउट भए । उनलाई कमल सिंह ऐरीको बलमा दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराएका हुन् । अमित श्रेष्ठ ३४ रन बनाएर काठमाडौंको दोस्रो विकेटको रुपमा आउट भए ।
उनलाई साग टकालले सातौं ओभरको चौथो बलमा बिक्रम ठगुन्नाको हातबाट क्याच आउट गराएका हुन् ।
काठमाडौंका जयकिशान कोल्सावालाले ४६ रनको योगदान गरे । धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । आजको खेलमा जित निकालेसँगै काठमाडौंले प्रतियोगितामा तीन खेलबाट दुई अंक जोडेको छ ।
काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल बलास्टर्ससँग पराजित भएको थियो । उता धनगढीले दुई खेलबाट दुई अंक जोडेको छ । धनगढीले पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले पारजित गरेको थियो ।
२०८२ जेष्ठ १ गते बिहिवार