• एउटै दृष्टि, भिन्न कोण
  • Search

विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ

२०७६ पुष १६ गते बुधवार

सुर्खेत । सुर्खेतमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच दाहोरो फायरिङ भएको छ । पञ्चपुरी नगरपालिका-८ स्थित चेनेरीताल जंगलमा विप्लव समूह र प्रहरीबीच बुधबार फायरिङ भएको हो ।

विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनका कर्यकर्ताले गोली प्रहार गरेका थिए । त्यसपछि दुईपक्ष बीच फायरिङ भएको हो । जिल्ला प्रमुख दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गर्नुभयो ।

प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जंगलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताउनुभयो । शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो । ‘प्रहरीलाई देख्न बित्तिकै ८–१० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं ।’

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भन्नुभयो, ‘अहिले थप प्रहरी परिचालन गरेर जंगलमा उनीहरुको खोजी भइरहेको छ ।’ यसैबीच, विप्लव समूहले मंगलबार राति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो ।

बम नेपाली सेनाले बुधबार निष्क्रिय पारेको छ ।

प्रतिक्रिया दिनुहोस