• एउटै दृष्टि, भिन्न कोण
  • Search

कक्षाभित्र परीक्षा, बाहिर अध्यक्षका छोराको बिहेभोज

२०७६ चैत्र १ गते शनिवार

काठमाडौँ । कक्षाभित्र परीक्षा, बाहिर अध्यक्षका छोराको बिहेभोज  तस्वीरमा भोज खाइरहेको देख्न सकिन्छ । विद्यालयको प्रागंणमा भोज चलिरहेकै बेला विद्यार्थीहरु परीक्षा दिइरहेका थिए ।
वार्षिक परीक्षा संचालन भईरहेको समयमा महोत्तरीको औरही नगरपालिकाका एक विद्यालयको प्राङ्गणमा सर्वसधारणले भोज खाएका छन् ।
शुक्रवार दिउँसो औरही नगरपालिका ८ मा रहेको सोनामाई आधारभुत विद्यालय टिम्कियाका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले कक्षाकोठाभित्र पहिलो दिनको परीक्षा दिईरहेको समयमा बाहिर विद्यालयको चौरमा बिहेको भोजको आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवले आफनो छोराको बिहे भोज गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानीयहरु आरोप लगाएका छन । स्थानीय रामआश्रय यादवले भने पावरको दुरुपयोग भएको छ ।
उनले वार्षिक परीक्षा संचालन भईरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाएका छन् । भोज चलिरहेको बेला विद्यार्थीहरु पनि भोज खान दबाब दिइरहेका थिए, तिनीहरुलाई धेरै मुस्किलले सम्हालेको एक शिक्षकले बताए ।
वडामा सार्वजनिक धर्मशाला वा दलानको अभाव भएकोले विद्यालयमा भोजभात गर्नु परेको बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले स्वीकार गरे ।

स्थानीय पत्रकार धर्मेन्द्रकुमार यादवले आफूले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफनो घरमा कुरा लगाएको बताउदै गलतलाई गलत भन्दा दबाब झेल्नुपरेको उल्लेख गरे ।
यस सम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफूहरुलाई पनि यससम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताए । उनले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा कक्षा सञ्चालन भइरहेको वा परीक्षा चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताइन् ।
यस सम्बन्धमा जानकारी आउने बितिकै आफूले सो विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक राईले बताए ।
वर्षाले गर्दा सडक अवरुद्ध भएकोले आईतबारसम्म चिक्तबुझ्दो जवाफ प्रधानाध्यापक यादवले स्पष्टीकरण पेश नगरे कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाईने संयोजक राईले बताए ।
जिल्ला समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख शत्रुध्न प्रसाद यादवले विद्यालयभित्र परीक्षा संचालन भईरहेको समयमा बाहिर स्थानीयहरुले भोजभतेर गरेर विद्यार्थीको भविष्य उपर नै खेलवाड गरेको आरोप लगाए ।
समुदायको सम्पत्ति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानीयले नै उचित भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि प्रमुख यादवको भनाई रहेको छ ।
विद्यालयले कुन रुपमा अनुमति दिएको हो यस सम्बन्धमा आफूले बुझ्ने प्रयासमा रहेको प्रमुख यादवले प्रतिक्रिया दिए । तर भोज भतेर गर्ने यो पहिलो विद्यालय भने होइन ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न ५ चैतभित्र परीक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा शुक्रबारबाट परीक्षा सुरु भएको हो । शिलापत्रबाट साभार

प्रतिक्रिया दिनुहोस