• एउटै दृष्टि, भिन्न कोण
  • Search

१२ वर्षे रिद्धिमाको चिन्ता- “प्रदूषणले बालबालिकामा नराम्रो प्रभाव पारिरहेको छ”

२०७७ भाद्र २९ गते सोमवार

वायु प्रदूषणले आम मानिसहरुको जनजीवन कष्टकर बनिरहेको छ। वातावरणको क्षेत्रमा काम गर्ने सम्बन्धित निकायहरुका अनुसार प्रदूषण वर्तमान संसारकै चुनौती हो। खासगरी वायु प्रदूषणले बालबालिकाहरुमा गम्भीर प्रभाव पारिरहेको छ।

रिद्धिमा पाण्डे (१२) वायु प्रदूषणले बालबालिकाहरुको दैनिक जीवनमा पारेको असरका बारे गम्भीर चिन्ता गर्ने भारतीय बालिका हुन्। प्रदूषित हावाको माध्यमबाट सास फेर्दा बालबालिकाहरुको स्वास्थमा नराम्रो प्रभाव परिरहेको कुरालाई उनले जोडदारका साथ उठाएकी छन्।

रिद्धिमाले पछिल्लो समय बढ्दो वायु प्रदूषणको विरद्धमा तुरुन्त कदम चाल्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखिकी छन्। भारतको दिल्ली, मुम्बई, चेन्नई लगायतका ठुला सहरहरु वायु प्रदूषणको उच्च जोखिमा रहेका छन्। प्रदूषित सहरमा मानिसहरुको बसोबास बाक्लो छ। यी क्षेत्रलाई चित्रण गर्दै जलवायु अभियन्ता रिद्धिमाले प्रधानमन्त्री मोदीलाई आवश्यक कानून कडाइका साथ लागू गर्न आग्रह गरेकी छन्।

रिद्धिमाले पत्रमा लेखेकी छन्– “कानूनलाई कडाई गरियो भने प्रत्येक भारतीयको स्वास्थ्यलाई बचाउनेछ। अझ् विशेषगरी हाम्रा बालबालिकाहरुले भोग्ने खतरा समेत टर्नेछ।”

“प्रदूषित हावा मानिसहरुका लागि सबैभन्दा ठूलो समस्या हो। दिल्ली लगायत धेरै सहरहरू प्रदूषित छन्। म चिन्तित छु। किनकी म १२ वर्षको बालिकालाई वायु प्रदूषणका कारण सास फेर्न गाह्रो भइरहेको छ। अब सोच्नुहोस्– अरु बालबालिकाहरुको अवस्था कस्तो होला”– उनले पत्रमा लेखेकी छन्। उनले आफ्नो पत्रमार्फत प्रधानमन्त्रीलाई देशको प्रदूषण व्यवस्थापन सम्बन्धी कडा निर्देशन जारी गरेर, नियम र कानून कडाइका साथ लागू गर्न आग्रह गरेकी छन्।

“भारतीय नागरिकहरू स्वच्छ हावामा सास फेर्न सकुन्। कृपया हामीलाई यो सुनिश्चित गर्न मद्दत गर्नुहोस्” –पत्रको अन्त्यमा रिद्धिमाले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस