• एउटै दृष्टि, भिन्न कोण
  • Search

‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा-श्री

काठमाडौ २०७७ असोज ४ गते आइतवार

२०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ लाई र जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

‍‍‍‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री श्री शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ’, मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।  

पुरस्कृत स्रष्टाले चार/चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरस्कार राशि अघिल्लो वर्षदेखि दोब्बर पारिएको थियो। त्यसअघि दुई/दुई लाख प्रदान गर्ने गरिन्थ्यो। 

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार गत वर्ष प्रकाशितमध्ये १५१ पुस्तकहरू गुठीलाई प्राप्त भएका थिए।

त्यसमध्येबाट विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा मदन पुरस्कार–२०७५ का निम्ति छनोटमा परेका थिए।

विसं २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालका जनरल भीमसेन थापा तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत उत्पादक पुस्तकलाई अर्पण गरिएको थियो।

२०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस