प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सामा नयाँ कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्सा समाबेस भएको छैन । उक्त नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न समेत गर्न थाली सकेका छन ।
शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दसैंको शुभकामना सन्देश व्यक्त गरेका थिए । सन्देशमा प्रयोग गरिएको निशान छाप पुरानो रहेको भन्दै प्रश्न गरिएको छ- कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा खोइ ?
प्रधानमन्त्री ओलीले प्रयोग गरेको निशान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको चुच्चे नक्सा प्रयोग नगरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विरोध गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निशान छापमा रहेको नक्सामा लिम्पियाधुरा क्षेत्र नभएको भन्दै सच्याउन आग्रह गरेका छन् भने केहीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको पछिल्लो भेटको प्रभाव भनेर पनि आलोचना गरिरहेका छन् ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । त्यसपछि तीन क्षेत्रलाई नेपालको निशान छापमा रहेको नक्सा संशोधन गर्नका लागि संविधान पनि संशोधन गरिएको थियो । हाल यही नक्सा प्रयोगमा छ ।