हिमाली जिल्ला डोल्पालाइ संघिय राजधानी र प्रदेश राजधानी सङ जिल्ला सदरमुकाम दुनै जोड्ने मुख्य मोटरबाटोमा गएको खुख्खा पहिरो हटाउन नसक्दा यातायात ठप्प बनेको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै खसेको भिषण सुख्खा पहिरो खसेको तीन दिनसम्म पनि हटाउन सकिएको छैन् ।
डोल्पा जिल्लालाइ जोड्ने मुख्य मोटरबाटो जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी खण्डमा खसेको सुख्खा पहिरो निरन्तर खसिरहेकाले तीन दिनसम्म पनि पन्छाउन नसकिएको हो । करिब दुई सय मीटर माथिबाट खसेको पहिरोको कारण ५० मीटर सडक पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्लामा मानिस आवागमन गर्ने देखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रिहरु सस्तोमा ढुवानी गर्ने सजिलो एवं भरपर्दो सडक नखुल्दा प्राकृतिक नाकाबन्दी जस्तै भएको खदाङ्गका स्थानीयको भनाई छ ।
सुख्खा पहिरोका कारण रुकुम(पश्चिम) भएर स्थलमार्गबाट जिल्ला भित्रने सबै प्रकारका सवारी साधन तथा मानिस आवत–जावत पुर्णरुपमा ठप्प भएको स्थानीय मोतिप्रसाद उपाध्यायले बताए। अत्यावश्यक कामले जिल्ला छोड्न लागेका मानिसहरु ज्यान नै जोखिममा पारेर पहिरोबाटै आवत जावत गर्न बाध्य भएको उपाध्यायको भनाई छ ।
दैनिक उपभोग्यबस्तु तथा यात्रु बोकेर खदाङ्ग लागि हिँडेका जीप,ट्रयाक्टर लगायतका सवारी साधनहरु बिच बाटोमै अलपत्र परि सवारीसाधन ठप्प भएपछि सामान ओसार पसार गरेर दैनिक गुजारा चलाउने मजदुरुहरु समेत मारमा परेकाछन्।
सुख्खा पहिरो अहिले पनि निरन्तर रुपमा खसिरहेकाले दुबैतिरबाट डोजर लगाएर पनि सजिलै पहिरो हटाउन सक्ने अवस्था नरहेको त्रिपुरासुन्दरी नपा वडा नं ६ का वडा सदस्य अमृत सार्कीले जानकारी दिए । पहिरो हटाउनका लागि भन्दै बुधवार बेलुकी नै नगरपालिकाले डोजर पठाईसकेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।