प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ ।
शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको बिफ्रिङ भएको छ । यसअघि ओलीले एकलौटी ढङ्गले निर्णय गर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएका प्रचण्डले ओलीसँग छलफल गर्न नै छोडेका थिए ।
केपी ओलीले प्रचण्डसँग सम्बन्ध विच्छेद गर्न चाहेको प्रमाण को रुपमा महासचिव विष्णु पौडेलको फेसबुकको स्टाटसलाई लिन सकिन्छ । महासचिव पौडेलले पार्टी विभाजनको सँघारमा पुगेको संकेत गर्दै भनेका छन्, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’
केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आएका छन। यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।