आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसहित ४ जना अनुपस्थित भएका छन् । नेकपा केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालयमा जारी रहेको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका तीनजना सदस्यलाई उक्त बैठकमा नजान निर्देशन दिएका थिए ।
बैठकमा उपस्थित नभएका एक सचिवालय सदस्यले भने, ‘हामीलाई प्रधानमन्त्रीज्यूले नजान निर्देशन दिनुभयो । मन्त्री बनेर उहाँकोविरुद्धको बैठकमा जानु नैतिकताले दिँदैन । त्यसैले नगएका हौँ ।’
प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी छन् । ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि कार्यकारी अधिकार प्रयोग गरेर प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकले गरेका निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् ।