सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीको आन्तरिक किचलोका कारण वर्तमान शासकीय प्रणालीमाथि नै भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ। सत्तारुढ दल (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले जनताले वर्तमान शासकीय प्रणालीमा नै आशंका गरिरहेको कांग्रेसको भनाई आएको हो।
निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरणले महतले बताए। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने उल्लेख गरे।
‘‘प्रणालीको कुरा होइन। निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ। तर त्यो होइन। जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो। सरकारले रहँदासम्म सरकार लाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ,’ उनले भने, ‘प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन्। त्यो बाटोमा देश जान सक्दैन।’
उनले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताए। महामारीविरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण/व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापन अस्पतालमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए।
‘निर्वाचनमा गरेको वाचाविपरीत सरकारले काम गरिहरेको छ। सरकारस संवेदनशील भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो। सुरुमा आइसोलेसन, क्वारेन्टाइन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन। अहिले सरकार औषधि खरिद र राहात वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ,’ उनले भने।
सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको उल्लेख गरे। संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उनको टिप्पणी छ। महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको उनको आरोप छ।
‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ। यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन्,’ उनले भने।