नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन् । थापाले सरकार संचालनमा असफल भएको र विभिन्न काण्डमा फसेकोले अब सडक र सदनबाट जवाफ माग्नुपर्ने बेला आएको भन्दै यस्तो संकेत गरेका हुन् ।
बुधबार लामो लेख लेख्दै उनले थापाले नेकपाको विवादमा उठान भएका कतिपय विषय पार्टीको आन्तरिक विषयमा मात्रै सीमित नभएको र सार्वजनिक चासोको बिषय भएकाले पनि अब प्रधानमन्त्री ओलीले यसको जवाफ दिनैपर्ने अवस्था आएको जनाएका छन् ।
थापाले भनेका छन्, “नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स सँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नु भयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्क्रिय तुल्याउनु भयो ।
त्यतिमात्रै होइन थापाले अगाडी लेखेका छन्, राष्ट्रियता संग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनु भयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीति संग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु-याउनु भयो । द्वन्दकालिन मुद्दाहरूलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो। समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल हुनु भयो । “
“पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोपहरूमा नौला विषय छैनन् र गलत पनि होइनस संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर पनि यो प्रकरण विशेष छ । प्रधानमन्त्रीकै पार्टीभित्रबाट नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य दुई पूर्व-प्रधानमन्त्री समेतका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न अयोग्य मात्र होइन राज्य सञ्चालन र सुशासनका सन्दर्भमा प्रधानमन्त्रीको प्रवृत्ति र नियतमै गम्भीर प्रश्न उठाएका छन् । आफ्नै पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनाएको व्यक्तिविरुद्ध उदाहरण सहित असक्षमरभ्रष्टाचारीलाई प्रोत्साहन र संरक्षण गरेको, राष्ट्रिय सुरक्षामा असंवेदनशिल भएको निष्कर्ष निकाल्नुले प्रधानमन्त्री ओली विरुद्धको विरोधको पछिल्लो शृङ्खलालाई विशेष बनाएको छ । यो संवेदनशील छ” थापाले भनेका छन् ।
“आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुबैबाट मागिने छ” थापाले भनेका छन् ।
यस्तो छ सांसद गगन थापाको लेखेको पूर्ण अंश तलको लिङ्कमा पुरा विवरण हेर्नुहोस ।