दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको काम सुरु भएको छ । बैशाख १ गते उद्घाटन गर्ने गरि इन्धन डिपो स्थापनाको काम सुरु भएको नेपाल आयल निगमका कार्यकारी सुरेन्द्र पौडेलले आगामी जानकारी दिए ।

त्यसको लागि एयरपोर्ट प्रवेशद्धारको दक्षिण कुनामा पक्कि संरचना निर्माण गरिने उनले बताए । स्थायी संरचना निर्माणको लागि नेपाल नागरिक उड्यन प्राधिकरण संग संझौंता भइसकेको तथा जग्गा प्रयोग गरे बाफत आयल निगमले नागरिक उड्यन प्राधिकरणलाई भाडा तिर्ने पौडेलले जानकारी दिए । रिफिल्यूलिङका लागि निर्माण गरिने स्थायी संरचनामा सानो अफिस एरिया, क्यालिबरेसन टावर, पार्किङ एरिया, दूईवटा बाउजर र ६ वटा ट्याङकलाई आवश्यक पर्ने अर्कौ एउटा भौतिक संरचना निर्माण गरिने भएको छ ।
त्यसका लागि झन्डै ७५ मिटर लम्वाई र ३० मिटर चौडाईको कम्तिमा ५ देखि ७ रोपनी जग्गा चाहिने कार्यकारी पौडेलले अनुमान गरे । प्रविधिको टेन्डर भइसकेको र अब यसमा जमिन रिफिलिङ गरेर कालोपत्रे गर्ने मात्रै काम बाँकी रहेको पौडेलले जानकारी दिए ।
अत्याधुनिक र सानो एअफएस रिफिल्यूलिङ सेन्टर स्थापना गरिने उनले जानकारी दिए । त्यो भनेको रेडिमेड रिफिल्यूलिङ् ट्याङ्क हो । त्यो ट्याङकले फिल्टर गर्ने देखि लिएर रिफियूलरमा रिफिल्यूल गर्नेसम्मको सम्पूर्ण कार्य आफै गर्ने गर्छ ।

निगमका कार्यकारी पौडेलले रिफिल्यूलिङ सेन्टरका लागि दूई वटा ३०÷३० केएलको ट्याङ्कीहरु जडान गरिने जानकारी दिए । ती ट्याङ्कीमा भण्डारण हुने इन्धनले दैनिक तीनवटा जहाज आएपनि कम्तिमा पनि १५ दिन सम्म इन्धन पुग्ने निगमका कार्यकारी पौडेलले जानकारी दिए ।
अफिसपनि हामी छिट्टै बनाउन सुरु गर्छौं र बैशाख १ गते उद्घान गर्ने हाम्रो लक्ष्य रहेको उनले बताए । यी सबै संरचना निर्माण गर्न झन्डै दश करोड जति खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमा झन्डै एक करोड जति तुलसीपुर उपमहानगरपालिकाले बेहोर्ने र बाँकी जम्मै रकम आयल निगमले बेहोेर्ने पौडेलले जानकारी दिए ।
संरचना निर्माण गर्दा खेरि ढल व्यवस्थापन, सुरक्षाकर्मी बस्ने पुरानो भवन पनि हटाउनु पर्ने हुँदा त्यसमा उपमहानगरपालिकाले सघाउने सहमति भएको पौडेलले बताए । रिफिलिङ एकान्त स्थानमा राखिने र रिफिल्यूलिङ गरि सकेपछि बाउजर गाडीहरु साईडबाट मात्रै जाने हुँदा पुराना संरचना हटाउनु पर्ने अवस्था देखिएको पौडेलले बताए ।
ती पुराना संरचना हटाउनु पर्ने अवस्थामा आयल निगम वा नागरिक उड्यनका लागि तुलसीपुर उपमहानगरपालिकाले छुट्टै संरचना निर्माण गरिदिने संझौंता भएको पौडेलले जानकारी दिए । उपमहानगरपालिकाको १ करोड र निगमको ९ करोड जति लागत लाग्ने निगमका कार्यकारी पौडेलले अनुमान गरे ।