चन्द्रप्रसाद ढकालले आइतबार विहान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष जिते। अब उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् ।
बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका चन्द्रको भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् ।
बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र एसएसली दिइरहेकै बेला बुवाको मायासँगै सुखद् भविष्यको आडभरोसा समेतलाई कालीगण्डकीमा सेलाउन विवश पात्र हुन् ।
आफूलाई नेपालका सफलतम् व्यावसायीहरुको सूचीमा पार्न सफल उनी मेहनत र आँटको बलमा यो मुकाममा आइपुगेका हुन् । ‘जिन्दगीमा सोचेजस्तो केही हुँदैन’, ढकाल भन्छन्, ‘तर योजनावद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भनेचाहिँ नसोचिएको सफलता पनि हात लाग्दोरहेछ ।’
आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य,उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका छन्, अब अर्को पाली अध्यक्षा बन्ने सुनिश्चित भएको छ । ढकाल चन्द्रगीरि हिल्स लिमिटेड लगायतका कम्पनीहरु चलाउँदै देशको उद्योग–वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाको लागि लबिङ पनि गर्दै आएका पात्र हुन् । व्यावसायिक सफलताको यो उचाईमा उनी अमलाचौरको धरातल भने कहिल्यै बिर्सँदैनन् । भन्छन्, ‘मेरा हर सफलताको आधारशीला त्यही अमलाचौर हो ।’
काठमाडौंमा कमाईका लागि कामसँगै पढाइलाई अगाडि बढाउन खोज्दा कठिनाईहरु कम थिएनन् । ती उद्देश्यका साथ काठमाडौंमा टिकिखान गर्नुपर्ने एउटै कुरा थियो– मेहनत अनि मेहनत ।
ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गरे । घरमा खर्च पठाउँदै पढाई अगाडि बढाए । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।
२०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले नदिने भए, जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै ।
ती हाकिमकै अगाडि राजीनामा लेखेर बैंक ऋण लिएका ढकाल आज ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् । आज त्यो क्षण सम्झँदा उनलाई सही निर्णय गरेको लाग्छ । ‘त्यो बेला त्यो निर्णय मेरा लागि जोखिमले भरिभराउ थियो’, उनी सम्झन्छन्, ‘तर मलाई त्यसै दिन र त्यही क्षणमा पनि गलत निर्णय लिएँ भन्ने लागेको थिएन ।’
दशैं आसपास शुक्रबारको दिन थियो । विदाअघि नै कार्गो ‘सिपमेन्ट क्लियर’ गरिसक्नुपर्ने भएकाले चन्द्र र रामु ढकाल दाजुभाइ मोटरसाइकलमा एयरपोर्टतिर लागे । बागमती तरेर सञ्चारग्राम पुग्नै लाग्दा सडक ढाकेका च्याङ्ग्राको हुलमा मोटरसाइकल जोतियो ।
दाजुभाइलाई दुवैलाई रगतपक्ष हुने गरी चोट लाग्यो । तर उनीहरु हतार–हतार बाइक उठाएर अस्पताल होइन, एयरपोर्टतिरै हान्निए । कार्यालय समयअघि नै कार्गोको काम सकेर मात्र अस्पताल पुगे । चन्द्र ढकाल भन्छन्, ‘त्यसपछिको २० दिन अस्पताल र घरमा बिताउनुुपर्यो ।’
तर यो घटनाले पनि ढकाल दाजुभाइले सफलताको शिखर कसरी आरोहण गरे भन्ने देखाउँछ ।