नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।
स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।
गौतमपत्नी ओली पक्षधर नेकपाको केन्द्रीय सदस्य मनोनित भए पनि उनी सपथग्रहणमा गएकी छैनन् ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम आज संसद अधिवेशनको पूर्वसन्ध्यामा खुमलटार पुगेका हुन् । गौतम राष्ट्रियसभा सदस्य भएपनि सांसदका रुपमा उनको आजको बैठकमा पहिलो प्रवेश हुनेछ । राष्ट्रियसभामा गौतमको यो पहिलो इन्ट्री हो ।
शुक्रबार(आज) देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ। आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन्।