• एउटै दृष्टि, भिन्न कोण
  • Search

नयाँ उर्जा मन्त्रिलाइ कुमान घिसिङको जवाफ:भूमिगत तार सयौं गुणा सुरक्षित

काठमाडौ २०७७ पुष २३ गते बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष ठूलै तामझामका साथ उद्घाटन गरेको काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने योजनालाई उनकै क्याबिनेटका उर्जा मन्त्रीले चुनौती दिएका छन् ।

गएको फागुन ५ गते शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको प्रधानमन्त्रीले उद्घाटन गरेका थिए। तर,नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले तार भूमिगत गर्ने काम गलत भएको दाबी गरेका छन् ।

आइतबार गृहजिल्ला अर्घाखाँची पुगेका मन्त्रीले तार भूमिगत गर्ने काम खतरनाक रहेको भन्दै यस्तो खतरनाक योजना किन अघि बढाइएको हो ? भनेर प्रश्नसमेत गरेका छन् । उनले भने, ‘कति साथी मर्ने हुन्, कुलमानजीहरूले नै अन्डरग्राउण्ड बिजुली बनाउन थालेका हुन् । त्यहाँ एस्काभेटरले खन्न थाल्यो भने त्यो खन्ने मान्छे पनि मर्छ,त्यो धेरै ख`तरनाक भइराखेको छ । अहिले त्यसबारे अध्ययन भइरहेको छ ।’

तर बिद्युत तार भूमिगत गर्ने योजनाका मुख्य योजनाकार नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पोलमा टाँगिने तारभन्दा भूमिगत तार सयौं गुणा सुरक्षित हुने बताएका छन् । ‘तार अन्डरग्राउण्ड गर्नुको विकल्प छैन,यो जत्तिको बाहिर टाङ्गिएको तार सुरक्षित हुनै सक्दैन’ उनेले भने ।

भूमिगत तार असुरक्षित हुँदैन भन्ने कुराको उदाहरण हेर्न धेरै टाढा जानु नपर्ने घिसिङ्गको दावी छ । ‘विश्वका सबै आधुनिक शहरमा बिजुलीका तार अन्डरग्राउण्ड गरिएको हुन्छ’,उनले भने ‘नेपालकै हेर्नुहुन्छ भने पनि टेकुदेखि सिंहदरबारसम्म ६६ केभीको लाइन २० वर्षदेखि जमिनमुनि नै छ । खै,कुनै खतरा देखिएको छ र ?’

अहिलेकै प्रशारण लाइनको अवस्थाबाट उपत्यकामा बढेको विद्युतको माग पूरा गर्न नसकिने निश्कर्ष निकालेर नै नयाँ प्रविधिमा जाने निर्णय गरिएको उनको भनाइ छ । ‘तत्कालका लागि मात्र हेरेर यो योजना अघि सारिएको हैन,केही वर्षपछि नै हामीलाई मागअनुसारको आपूर्ति पुर्याउन अहिलेको अवस्थामा कठिन हुन्छ’ भन्दै उनले ‘सर्वसाधारणले घरअगाडि १० वटा तार टाँग्न दिनुहुन्छ ?’ भनेर प्रतिप्रश्न गरे ।

धेरै छलफल र अध्ययन गरेरै काम अगाडि बढाइएको उनको दाबी छ । मन्त्री रायमाझीको धारणाप्रति कुनै टिप्पणी नगर्ने बताउँदै घिसिङले ‘म मन्त्रीजीको धारणा के आयो त्यतापट्टि जान्नँ, तर यो सुरक्षित छ, गुणस्तरीय छ, टिकाउ छ र हाम्रो आवश्यकताअनुरुप छ’ भन्न पछि परेनन् ।

अहिले उपत्यकाका तीनवटै जिल्लामा ११ केभीको लाइन अण्डरग्राउण्ड गर्ने काम चलिरहेको र मागबमोजिम पूर्ति गर्न १ सय ३२ केभीको लाइन भूमिगत बनाउनुपर्ने आवश्यकता रहेको समेत कुलमानले उल्लेख गरे ।

प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा काठमाडौंको शहरी क्षेत्रभित्र तार भूमिगत गरिरहेको छ । काम धमाधम अगाडि बढिरहेका बेला मन्त्रीको फरक धारणाले अर्बौंको लगानी जोखिममा पर्ने जोखिम बढेको छ । त्यससम्बन्धमा घिसिङ्ग भन्छन्, ‘यो मुलुकको आवश्यकता हो ।

न मन्त्रीको हो,न मेरो । त्यसैले अगाडि बढिसकेको योजना रोकिने सम्भावना नै हुँदैन । मलाई लाग्छ रोकिँदैन ।’ अहिलेसम्म अण्डरग्राउण्डका कारण कसैलाई करेन्ट नलागेको उल्लेख गर्दै उनले बरु पोलमा टाँगिएका तारका कारण धेरैजनाको ज्यान गएकोतर्फ ध्यान दिनुपर्छ भने ।

प्रतिक्रिया दिनुहोस