नेत्रविक्रम चन्द विप्लव समूह वार्तामा आउन सकारात्मक रहेको त्यसका महासचिवले जनाएका छन्।
शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्।
विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त तेर्स्याएका छन्। यो भनेको आफ्ना गतिविधिभाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्छ भनिएको हो।
‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण, जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’
दुई वर्षअघि सरकारले विप्लव समूह हिंसात्मक भएको भन्दै उसका गतिविधि प्रतिबन्ध गरेको थियो। प्रतिबन्धपछि विप्लव समूहका थुप्रै नेता-कार्यकर्ता पक्राउ परेका छन्। कतिपय नेता अहिले जेलमा छन्।
