• एउटै दृष्टि, भिन्न कोण
  • Search

बर्थ डे केक काटेर धुमधामले मनाउने मन त थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न

काठमाडौ २०७७ फाल्गुन २४ गते सोमवार

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता सम्वन्धमा हिजो फैसला सुनाएपछि चर्चामा छन् माधवकुमार नेपाल । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल ‘यता न उता’ बनेको टिप्पणी भइरहेको छ ।

आफ्नो लागि स्तब्धकारी फैसला आउँदा संयोगले माधव नेपाल जन्मदिनको खुशीयाली मुडमा थिए । पार्टीका नेता-कार्यकर्तादेखि शुभचिन्तकसम्मको शुभकामना ग्रहण गरिरहेका थिए । शुभकामना दिनेमध्ये एक थिए, प्रधानमन्त्री केपी शर्मा ओली ।

ओलीले हिजो बिहानै नेपाललाई फोन गरेर ‘बर्थडे विस’ गरेको स्रोतले बतायो । जवाफमा नेपालले धन्यवाद दिए ।

ओलीले भनेका थिए, ‘तपाईंको बर्थ डे केक काटेर धुमधामले मनाउन मन थियो, तर तपाईं मेरो अनुहारै हेर्न चाहनुहुन्न, भौतारिएर कताकता हिँड्नु भएको छ ।’

उनीहरूको फोन संवाद सुनेका नेता सुवास नेम्वाङले ओलीलाई कटाक्ष गरे ।

‘तपाईंहरुको भित्रभित्र यत्रो हिमचिम रहेछ, जन्मदिनमा बिहानै सम्झेर फोन गर्नुहुँदो रहेछ । बाहिर चाहिँ किन एकअर्कालाई देखि नसहेझैं गर्नुहुन्छ ?’ नेम्वाङले भने । ओली मुसुमुसु हाँसे मात्र । नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस