लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बमौसमी बर्षात र बाढिपहिरोबाट प्रभावित किसानलाई राहत दिने घोंषणा गरेका छन् । बेमौसमी बर्षाका कारण लुम्बिनीका किसानको साढे ४ अर्ब बढिको धान नष्ट भएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले किसानलाई क्षतिपुर्ती दिने घोषणा गरेका हुन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री केसीले लगातार परेको बर्षातका कारण आएको बाढी र पहिरोमा परि प्यूठान माण्डवी गाउँंपालिका वडा नं. ४ निवासी २८ वर्षिय देविसरा कार्की लगायतले ज्यान गुमाएकोमा दु:ख व्यक्त गरेका छन् ।
कर्णाली नदिमा आएको वाढीले बर्दिया जिल्लाको राजापुर नगरपालिकाको १ हजार २७ घर परिवार र गेरुवा गाउँपालिकाको २ सय १० घर परिवार गरी १ हजार २३७ घर परिवार प्रत्यक्ष प्रभावित भएको मुख्यमन्त्रीले जनाएका छन् ।
त्यसैगरी राप्ती, कालीगण्डकी, नारायणी लगायतका नदिले समेत प्रदेशवासीलाई प्रभावित बनाएको उल्लेख गर्दै केसीले प्रदेश सरकारले सबैको समन्वयमा संबेदनशीलताका साथ उद्धार तथा राहत प्रदानको व्यवस्था गरेको बताएका छन् ।
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशकमा वर्दिया लगायत अन्य जिल्लामा ३६ हजार ४८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरमा रहेको खडा रहेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुदाँ करिव ४ अर्व ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको जनाएका छन् ।
त्यसैगरी पहाडी जिल्लामा मकै वाली पनि नष्ट भएको मुख्यमन्त्रीको भनाइ छ ।
साथै, अबिरल वर्षाका कारणले भएको आकस्मिक घटनालाई छिटो, छरिटो तरिकाले उद्धार गर्न सुरक्षा निकाय, स्थानीयतहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई सार्वजनिक अपिल गरिएको छ ।