• एउटै दृष्टि, भिन्न कोण
  • Search

संविधानको ट्रयाकभन्दा बाहिर जाँदा खतरा: महरा

दाङ २०७८ कार्तिक १० गते बुधवार

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले देश संविधानको ट्रयाकभन्दा बाहिर जाँदा देशमा खतरा हुन सक्ने बताएका छन् । देशमा संविधान विपरीत गतिविधि भइरहेकाले सम्भावित घटना हुन सक्ने बताए ।

‘संविधानको ट्रयाक बाहिर जान नदिन बनेको पाँच दलीय गठबन्धनबाट देशभित्रका संविधान विरोधीहरूसँगै केही बाह्यशक्ति राष्ट्रहरू निरास भएको देखिएको छ’ प्रेस सेन्टर नेपाल दाङको चौथो जिल्ला अधिवेशनलाई घोराहीमा सम्बोधन गर्दै प्रवक्ता महराले भने‘जसले गर्दा देशमा सम्भावित घटना हुनसक्छ ।’ सम्भावित घटनाबाट बचाउनको लागि राष्ट्र हित शक्तिहरू समयमै सचेत भएर एक ठाउँमा उभिन अनुरोध गरे । पाँच दलीय गठबन्धनबाट संविधान विरोधी र अन्तर्राष्ट्रिय केही शक्तिहरू खुशी नभएको बताए ।

‘उनीहरूले देश र जनताको समृद्धि चाहेका छैनन्’ कार्यक्रममा पार्टीका प्रवक्ता महराले भने ‘हामी सबै सचेत हुन जरूरी छ ।’ गौरवपूर्ण इतिहास जोगाउनका लागि राष्ट्र हितका शक्तिहरू एक हुनुपर्ने बताए । हाल पाँच गठबन्धनको सरकार रहेको भन्दै संविधानलाई समृद्ध बनाउनतर्फ लाग्ने बताए  । देशलाई असंवैधानिक गतिविधिबाट जोगाउनका लागि गठबन्धन बन्दा संविधानविरोधी र विदेशी केही शक्तिहरूको लागि टाउको दुखाइको विषय बनेको उनको भनाइ थियो ।

केपी ओली नेतृत्वको सरकार संविधानविपरीत गतिविधितर्फ जान थाल्न गठबन्धन सरकारको विकल्प भएको उनको भनाइ थियो । नेपालको मौलिकतामा आधारित संविधान भएकाले समृद्ध र रक्षा गर्ने आफूहरूको मिसन भएको बताए ।
इतिहासलाई सम्मान गर्दै, सम्भावनायुक्त भविष्य सुनिश्चित गर्ने मिसनमुखी पत्रकारिता गर्न आग्रह गरे । व्यक्तिको भन्दा पनि राष्ट्र र जनताको पक्षमा कलम चलाउन सुझाव दिए ।

‘सर्वहारा वर्गप्रति निष्ठावान, जनाताप्रति उत्तरदायी, समाजवादउन्मुखलाई केन्द्रविन्दुमा राखेर कलम चलाउनुपर्छ’ कार्यक्रममा उनले भने ‘जनता र सरकारलाई समृद्धिको बाटो जोड्नको लागि पुलको काम गर्नुपर्छ ।’ विदेशमा देशको राष्ट्रियता संकटमा पर्दा सञ्चारमाध्यमहरू एकजुट भएर अघि बढ्ने गरेको अभ्यास रहेको भन्दै पूर्वसभामुखसमेत रहेका महराले हाम्रो देशको राष्ट्रियताको लागि सञ्चार माध्यमहरू एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस