• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादीको शक्ति बुझ्न प्रचण्ड रोल्पामा

रोल्पा २०७८ चैत्र १५ गते मङ्गलवार

स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार रोल्पा जनसभालाई सम्बोधन गर्न पुगेका छन । रोल्पा नगरपालिकाले करिब ६ करोड लगानीमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन पश्चात् दाहालले दिउँसो सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गरेका हुन ।

सात वर्षपछि रोल्पा आएका दाहालले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा हौस्याउने-फुक्र्याउने प्रयास समेत गरे । उनले भने ‘तपाईंहरु महान हुनुहुन्छ, महान जनयुद्ध यहीँबाट सुरु भएको थियो । म युद्धको नेतृत्वकर्ता भएकाले मलाई तपाईंहरूप्रति गर्व छ,’। यतिबेला आफ्नो दललाई हेपिएको प्रसंग उल्लेख गर्दै दाहालले जिल्लावासीलाई फुक्र्याउँदै भने, ‘तपाईंहरूले इँटको जवाफ पत्थरले दिनुस् ।’

रोल्पाप्रति आफ्नो बेग्लै साइनो भएको प्रसंग जोड्दै युद्ध सुरु गर्दा र शान्ति प्रक्रिया थाल्नुअघि लगातार २ वर्ष यहीँ बसेको समेत बताए । ‘हामीलाई कसैले हेप्न खोज्दा तपाईंहरुले जोगाउनु होला । रक्षा गर्नुहोला,’ उनले आग्रह गरे । उनले जनयुद्धको महानता जोगाउन र बुझाउन रोल्पालीले मात्रै जानेको समेत बताए ।

बुद्धिजीवी र जनता आफ्नो पक्षमा भएकाले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा लहर देखिने दाबी गर्दै, ‘माओवादी फेरि एकपटक पुरानै शक्तिमा फर्कने अवस्था देखिएको छ’ ।  अबका हरेक निर्वाचन माओवादीका लागि लडाइँ भएको बताए ।

दाहालले लिबाङमा बोल्दै केपी ओलीलाई कम्युनिस्ट एकताबाट नायक बनाउन खोजेको तर २०७५ सालमा माओवादी र एमाले एकता असफल भएको बताए । प्रधानमन्त्री बनेपछि ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको र पार्टी अलग हुन पुगेको समेत दाहालले बताए । ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो उनी खलनायक निक्लिए ।’ उनले भने ।

हेलिकप्टरबाट रोल्पा आएका दाहाल सोमबार नै काठमाडौं फर्किए । लिबाङमा आयोजित सभामा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले जिल्लाभरबाट  कार्यकर्ता उतार्दै शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस