लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतिक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् ।
पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले चाहिँ पोष्टमार्टमको आधिकारिक रिपोर्ट आइनसकेको बताए ।
तर चिकित्सकसँग सम्पर्कमा रहेको स्रोतका अनुसार जाँचबुझमा संलग्नले सुनारको मृत्यु ‘स्ट्यांगुलेसन’का कारण नभएको भनेका छन् । प्रहरी अधिकृतहरुका अनुसार यो भनेको उनको मृत्यु घाँची थिचिएका कारण नभएको भन्ने हो ।
‘शरीरमा अन्यत्र पनि कुनै चोटपटक देखिएको छैन, ह्याङ्गिङकै कारण मृत्यु भएको चिकित्सकले भनेका छन्’ प्रहरी स्रोतले भन्यो । उनले मृत्यु अघि केके खाएकी थिइन् भन्ने थाहा पाउन प्रहरीले भिसेरा जाँच गर्ने तयारी पनि गरेको छ । यद्यपि, यसको रिपोर्ट आउन समय लाग्छ ।
प्रहरीले यो घटनामा सुनारका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको कारण पोष्टमार्टम रिपोर्टबाट खुलेपछि त्यही अनुसार अघि बढ्ने बताएको थियो । तर श्रेष्ठविरुद्ध परिवारले ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिइसकेका छन् । त्यही अनुसार ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । प्रेमी श्रेष्ठले पक्राउ गरेपछि सुरुवातमा झुटो बयान दिएका थिए । पछि उनी घटना भएको दिन घटना भएकै कोठामा बसेको खुलेको थियो । बिहान ४ बजेतिर उनी कोठाबाट निस्किएको खुलेको थियो ।