नेपाली काँग्रेस सल्यानले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि संभावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेस सल्यानले प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ दिलमान सिंह चन्दको नाम वर्णानुक्रम अनुसार एक नम्बरमा सिफारिस गरेको छ । उप-सभापति चक्र देवकोटाको अध्यक्षतामा बसेको बहुमत कार्यसमिति सदस्यको बैठकले दोस्रो नम्बरमा धुर्वराज पुरी र तेस्रो नम्बरमा राजेन्द्र बहादुर शाहलाई सिफारिस गरेको हो ।
नेपाली कांग्रेस सल्यानको जिल्ला कार्यसमितिको बहुमत टिमले क्रमश चन्द, पुरी र शाहलाई प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेकाे नेपाली कांग्रेस जिल्ला कार्य समिती सल्यानका उप-सभापति चक्र देवकोटाले जानकारी दिए । यस्तै समानुपातिकमा डिल्लीराज रेग्मी, गणेश चन्दलगायत २४ को नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ यकराज बुढाथोकी, एकराज डाँगी, नेत्रलाल ओली, सुरेश चन्द तथा समानुपातिकमा आइतुराम ओली, गोरख केसीलगायत १३ जनाको नाम सिफारिस गरिएको छ ।
यता सभापति केश बहादुर विष्टकाे नेतृत्वकाे टिमबाट प्रतिनिधि सभाकाे सिफारिसमा प्रत्यक्षतर्फ केश बहादुर विष्टकाे नाम सिफारिस भएकाे छ । जसबाट समानुपातिकमा गणेश चन्द, नीम बहादुर ओली, महेश मल्ल, महेन्द्र श्रेष्ठ, धुर्ब बहादुर मल्ल, शंकर श्रेष्ठ, कमला अधिकारीलाई सिफारिस गरिएकाे छ ।
त्यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ गोरख केसी, सुरेश चन्द र डिल्ली बुढाथोकीकाे नाम सिफारिस भएकाे छ । प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ सन्ताेष केसीकाे नाम एकल सिफारिस गरिएकाे छ । समानुपातिकमा शंकर श्रेष्ठ, बिरबहादुर सेजवाल, महेन्द्र कुमार श्रेष्ठ, कमला अधिकारी, साबित्रा राई, देबिसरा केसि, प्राणकुमार राई, मित्रलाल सार्की, क्षेत्रबहादुर बिकको नाम सिफारिस भएको छ ।
यता कांग्रेसको बहुमत कार्यसमिति सदस्यले विधि र विधान विपरित सभापति विष्टले मनोमानी ढंगबाट निर्णय गरेको बताएको छ । प्रदेश सभा क र ख को उम्मेदवार छनौट प्रक्रिया नेपाली कांग्रेसको विधि र बिधान अनुसार नै सर्वसम्मत निर्णय भएकाले त्यसलाई जस्ताको तस्तै निर्णय गरिएको उपसभापति देवकोटाले जानकारी दिए । उनले भने- ‘प्रतिनिधि साभा तर्फ हाम्रो असहमति हो, जहाँ नेपाली कांग्रेसको केन्द्र, प्रदेशको निर्देशन र कांग्रेसको विधि विधान विपरित निर्णय भएको छ, हाम्रो सभापतिले मनोमानी ढंगबाट निर्णय गर्नु भयो, त्यो हामीलाई मान्य हुँदैन, त्यसपछि हाम्रो बहुमत कार्यसमिति सदस्यले तीन जनाको नाम सिफारिस गरेको हो,’ ।
आफुहरुले गरेको निर्णय कर्णाली प्रदेश कार्यसमिति समक्ष पठाइएको देवकोटाले जानकारी दिए ।